नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको ३०औँ जिल्ला सभा तथा ५७औँ स्थापना दिवस सम्पन्न

64

भक्तपुर – नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको ३०औँ जिल्ला सभा तथा ५७औँ स्थापना दिवस सिरुटार उपशाखाको आतिथ्यतामा सम्पन्न भएको छ। प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय दुर्लभ थापाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, नेरेसो केन्द्रीय उपमहामन्त्री तथा भक्तपुर जिल्ला शाखाका निवर्तमान सभापति मनोज कुमार थापा, सहायक प्रमुख जिल्ला अधिकारी चिरंजीवी भण्डारी तथा भक्तपुर जिल्ला शाखाका पूर्व सभापतिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व सिरुटार उपशाखाका सभापति बलभद्र राउतले गर्नुभएको थियो। जिल्ला सभामा नेरेसो भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेले बन्दसत्रको सहजीकरण गर्नुभयो भने, जिल्ला शाखाका मन्त्री धर्मराज कार्कीले प्रस्तावित कार्यक्रम तथा गत वर्षका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यस्तै, कोषाध्यक्ष प्रदीप कुमार केसीले आर्थिक परीक्षण प्रतिवेदन र प्रस्तावित बजेटबारे प्रकाश पार्नुभएको थियो। सभामा २०८२/८३ का प्रस्तावित कार्यक्रम र बजेटहरू उपशाखाका सभासदहरूको सहमतिमा सर्वसम्मत रूपमा पारित गरिएको छ।

यस वर्ष पनि उत्कृष्ट उपशाखा छनोट गरिँदा प्रथम दुवाकोट उपशाखा, द्वितीय बालकोट उपशाखा, तृतीय सिरुटार उपशाखा घोषित भएका छन्। उत्कृष्ट जुनियर सर्कलको रूपमा दधिकोट इंग्लिस स्कूल छनोट भयो भने उत्कृष्ट महिला स्वयंसेवक छालिङ उपशाखाकी सुमना कार्की, उत्कृष्ट पुरुष स्वयंसेवक सिरुटार उपशाखाका बलभद्र राउत, र उत्कृष्ट कर्मचारी चालक इन्चार्ज लव थापा पुरस्कृत हुनुभएको छ।