भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुरथिमी नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा विद्यालयस्तरीय जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मध्यपुरथिमी नगरपालिका–२ स्थित महेन्द्र आधारभूत विद्यालय, जातिगालको सभाहलमा आयोजना गरिएको थियो। ६०औं जुनियर रेडक्रस स्थापना दिवस को अवसर पारेर आयोजित यस कार्यक्रमलाई विद्यालयस्तरमै विपद् व्यवस्थापन र सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
कार्यक्रममा वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाका प्रमुख गणेशदेवी प्रजापति र कर्मचारी सुदन आचार्यको उपस्थिति रहेको थियो। साथै, प्रशिक्षक ऋषि खड्का र दिवाकर पौडेलले सहजीकरण गर्दै विपद् जोखिम न्यूनीकरण र सडक सुरक्षाका महत्त्वपूर्ण पक्षहरूबारे प्रशिक्षण दिएका थिए।
विद्यार्थीहरूलाई विपद् न्यूनीकरण रणनीति, प्राथमिक उपचार, र सडक सुरक्षाबारे जानकारी प्रदान, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानी र उद्धार प्रक्रिया सिकाउने अभ्यासात्मक प्रशिक्षण, स्थानीय विद्यालयहरूमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धताका साथ कार्यक्रम गरिएको रेडक्रस भक्तपुरका मन्त्री धर्मराज कार्कीले जानकारी दिए ।
आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि अन्य विद्यालयमा यस्तै कार्यक्रम सञ्चालन गरिने जनाएको छ।