भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुरथिमी नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाको संयुक्त आयोजनामा विद्यालयस्तरीय जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मध्यपुरथिमी नगरपालिका–६, कुण्डोलस्थित बाल सेवा आधारभूत विद्यालयमा आयोजना गरिएको थियो। यस अभिमुखीकरणले विद्यार्थीहरूलाई विपद् व्यवस्थापन, प्राथमिक उपचार, र सडक सुरक्षाका उपायहरूबारे व्यावहारिक जानकारी दिने उद्देश्य राखेको रेडक्रसका जयराम लामाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा विशेष अतिथि वडा सदस्य रामचन्द्र थापा मगर रहनुभएको थियो भने वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाका प्रमुख गणेशदेवी प्रजापति र कर्मचारी सुदन प्रसाद आचार्यको उपस्थिति रहेको थियो।
प्रशिक्षण तथा अभिमुखीकरणका मुख्य बुँदाहरुमा विपद् जोखिम न्यूनीकरणका उपायहरू, आपत्कालीन परिस्थितिमा प्राथमिक उपचार र उद्धार प्रक्रियाहरू, सडक सुरक्षा सम्बन्धी सचेतना र नियमहरूको जानकारी मख्य रहेको रेडक्रस भक्तपुरका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभएको छ ।
कार्यक्रमको सहजीकरण प्रशिक्षक ऋषि खड्का र संगीता थापाले गर्नुभएको थियो भने सहभागी विद्यार्थीहरूले वास्तविक परिस्थितिमा उपयोगी हुने ज्ञान प्राप्त गरेको र यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने बताइएका छन् ।
आयोजक संस्थाहरूले अन्य विद्यालयहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।