ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा सुशासन र सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाको समन्वयकारी प्रशासनिक नेतृत्व र अब्बल निर्णय क्षमता भएका राजनीतिक नेतृत्वले गर्दा गाउँपालिकामा सेवा प्रवाह र सुशासन प्रभावकारी बन्दै गएको हो ।
गाउँपालिकाले प्रदान गर्ने सबै सेवालाई सेवाग्राहीको सहज पहुँच हुने गरी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै गएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले गाउँपालिकामा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी नगर प्रवक्ता, सूचना प्रविधि अधिकृतको व्यवस्था गरिएको जानकारी दिनुुभयो ।
उहाँका अनुसार सेवा प्रवाह गर्ने क्रममा कुनै समस्या आइपरे तत्काल समस्याको समाधान गर्ने गरिएको छ । कुनै सेवाग्राहीले समस्या परे अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित शाखाका प्रमुखलाई भेटेर आआफ्ना समस्या राख्ने गरेका छन् । त्यसरी आएका सेवाग्राहीको समस्यालाई गाउँपालिकाले सम्बोधन गर्दै आएको छ ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँसभाले पारित गरेका नीति, योजना र कार्यक्रम अहिले धमाधम कार्यान्वयन गरिरहेको, गाउँ कार्यपालिकाका निर्णय कार्यान्वयन भएको, आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि कर्मचारीलाई निर्देशन प्रदान गर्ने गरिएको छ ।