भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. १, दुवाकोट बेसीमा रहेको जागृति विद्या सदन स्कुल ले अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय सुरेश श्रेष्ठ रहनुभएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल पोखरेलको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले विद्यालयको शिक्षण शैली र प्रगतिको प्रशंसा गर्दै विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, उहाँले शिक्षकहरूलाई सम्मान गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल तथा संचालक जगदीश पौड्याल ले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र भावी योजनाहरू प्रस्तुत गर्दै २०७२ सालमा स्थापना भएको स्कुलले पहिलो पटक २०८२ सालमा एसईई परीक्षामा सहभागी विद्यार्थीहरू पठाउने जानकारी गराउनुभयो। साथै, अभिभावकहरूको साथ र सहयोग पाइरहे विद्यालयलाई अझ स्तरीय र प्रतिस्पर्धी बनाउन प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, नाटक, खेलकुद तथा अन्य विविध प्रतिभा प्रस्तुत गरेका थिए। यस अवसरमा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले अभिभावकहरूलाई गुणस्तरीय शिक्षाको लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै आफ्ना बालबालिकाहरू जागृति विद्या सदनमै अध्ययन गराउन प्रेरित गर्नुभयो।
कार्यक्रममा नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नेसनल प्याव्सन भक्तपुरका सहकोषाध्यक्ष रत्न बहादुर राई, सदस्य कमल सुवाल, नमस्ते ख्वप्प टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठ, विद्यालय संचालक कमल पौड्याल लगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।