हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

49

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डूमा अवस्थित हिमाल एकेडेमी स्कुल ले २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा रहनुभएको थियो।

विद्यालयले २०७९ सालको एसईई परीक्षामा ४ जिपिए प्राप्त गर्ने विपिना मिश्रलाई सम्मानपत्र प्रदान गर्दै विद्यालयका प्रिन्सिपल तथा संचालक प्रदिप थापाले रु.२५,०००/- नगद पुरस्कार प्रदान गर्नुभयो। प्रमुख अतिथि मन्त्री थापाले विद्यालयले क्षेत्रीय स्तरमा दिएको शैक्षिक योगदानको प्रशंसा गर्दै बागमती प्रदेशमा स्वास्थ्य सेवा र सुविधाको स्तरोन्नति गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले शिक्षासँगै व्यावहारिक सीप आवश्यक रहेकोमा जोड दिनुभयो। सूर्यविनायक नगरपालिका वडा ७ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटाले हिमाल एकेडेमी स्कुलको प्रगतिको प्रसंसा गर्दै विद्यालय नगरपालिकाको उत्कृष्ट संस्थागत विद्यालयका रूपमा स्थापित भएको बताउनुभयो।

वार्षिकोत्सव कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो, जसमा प्याव्सन भक्तपुरका अध्यक्ष राजन कस्पाल, वरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे, कान्तिपुर पत्रिकाका सहायक सम्पादक राजेन्द्र बस्नेत, नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नमस्ते ख्वप्प टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठ रहनुभएको थियो ।

विद्यालयका प्रिन्सिपल प्रदिप थापाले विद्यालयको प्रगति एवं भावी योजनाहरू प्रस्तुत गर्दै, २०७२ सालको भूकम्प र २०७७-७८ को कोभिड-१९ महामारीको कठिन परिस्थितिमा पनि अभिभावकहरूले देखाएको साथ र विश्वासप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयका सल्लाहकार संजय खड्काले गुणस्तरीय शिक्षाको खोजीमा गुण्डू बाहिर जानुपर्ने बाध्यता हटेको बताउँदै हिमाल एकेडेमी उत्कृष्ट विकल्प रहेको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम मा २०७६ देखि २०८० सालसम्मका १४६ जना एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न विधामा सम्मान र पुरस्कार वितरण गरिएको संयोजक प्रतिक्षा केसी थापाले जानकारी दिनुभयो।