यूनिटी सेकेण्डरी स्कुलमा अभिभावक अभिमुखीकरण सम्पन्न

18

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेमा रहेको यूनिटी सेकेण्डरी स्कुलले २३औँ स्थापना दिवसको अवसरमा अभिभावक अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाकर्मी संजय खड्काले विद्यालयले २३ वर्ष टेक्दा शैक्षिक गुणस्तर, भौतिक संरचना तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उहाँले २०८० को एसईई परीक्षामा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको सफलता विद्यालयको उत्कृष्ट व्यवस्थापन, सक्षम नेतृत्व र अभिभावकहरूको साथकै कारण सम्भव भएको उल्लेख गर्दै यूनिटी स्कुल नै बालबालिकाको उज्ज्वल भविष्यको थलो भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख वक्ता, उत्प्रेरक विकास देव योन्जनले अभिभावक, विद्यालय र विद्यार्थीबीचको सम्बन्धबारे प्रकाश पार्दै “असल अभिभावकत्व के हो र कसरी निर्वाह गर्न सकिन्छ?” भन्ने विषयमा प्रशिक्षण दिनुभयो। उहाँले अभिभावकले आफ्ना बालबालिकालाई समय दिनु पर्ने, उनीहरूको व्यवहार र संगतमा ध्यान दिनु पर्ने तथा अभिभावकत्वमा सकारात्मक दृष्टिकोण अपनाउनु पर्ने कुरामा जोड दिनुभयो।

यस अवसरमा CTF मोंटेसरी ट्रेनरले यूनिटी स्कुलमा मोंटेसरी विधि लागू गर्दै आएको र शिक्षण पद्धतिमा नवप्रवर्तन भइरहेको जानकारी गराउनुभयो।

त्यसैगरी, २०८० को एसईई परीक्षामा ४ जिपिए ल्याएर बोर्ड टपर बनेका आशिष थापा क्षत्रीले विद्यालयको विद्यार्थीमैत्री वातावरण नै आफ्नो सफलताको मुख्य कारण भएको बताउँदै, विद्यालयका शिक्षकहरूको मार्गदर्शनले आफूलाई उच्च उपलब्धि हासिल गर्न प्रेरित गरेको उल्लेख गरे।

विद्यालयका प्रिन्सिपल विपिन गुमान्जुले विद्यालय २३औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्दै, नयाँ शैक्षिक सत्र २०८१ देखि विशेष शैक्षिक क्रियाकलाप तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने योजना सुनाउनुभयो। उहाँका अनुसार, यी कार्यक्रमहरूले विद्यार्थीको व्यवहारिक ज्ञान र सिकाइ क्षमतामा महत्वपूर्ण वृद्धि गर्नेछ।

कार्यक्रममा अभिभावक, विद्यालयका शिक्षक तथा कर्मचारीहरू, विद्यार्थी, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।