भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–४ स्थित मध्यपुर अस्पतालनजिक जस्ताको टहरामा भएको ५ वटा पसलमा आगलागी हुँदा करिव १२ लाख रुपैंयाको क्षती गरेको छ ।
काभ्रेको बेथानचोक गाँउपालिका–४ घर भई हाल मध्यपुर थिमि बस्ने २३ वर्षिय सनिस श्रेष्ठले जग्गा भाडामा लिई सञ्चालन गरिरहेको दुनोट उद्योगमा लागेको आगो सँगै रहेका अन्य पसलहरुमा पनि सल्किँदा ११ लाख ७२ हजार ७ सय रुपैंया बराबरको क्षती गरेको हो
सनिसको दुनोट उद्योगमा दिउँसो करिव पौने १ बजे करेन्टसर्ट भई आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
दुनोट पसलबाट लागेको उक्त आगोले सँगै रहेको खाजा पसल, मोटरसाइकल वर्कसप, मसला पसल र तोफु पसलमा समेत क्षती गरेको प्रनाउ नेउपानले जानकारी दिनुभयो ।
आगलागीबाट सनिसको दुनोट उद्योग भित्र रहेको करिव एक लाख ३८ हजार ७ सय रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको नेउपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ का २० वर्षिय समित बाँनियाले सञ्चालन गरेको खाजा पसलमा ३ लाख २ हजार २ सय रुपैयाको क्षती गरेको छ ।
यसैगरी भक्तपुरको सूर्यविनायक नगरपलिका–४ शिकारीटारका २४ वर्षिय सुमन श्रेष्ठले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा ८ हजार, सूर्यविनायक नगरपालिका–१ सिरूटारका ४५ वर्षिय यम विक्रम कार्कीले सञ्चालन गरेको मसला पसलमा ३ लाख १९ हजार र बाँकेको नेपालगंज नगरपालिका–२ का ४५ वर्षिय राजेन्द्र कुमार श्रेष्ठले सञ्चालन गरेको तोफु पसलमा ४ लाख ४ हजार ८ सय रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागी प्रहरी, स्थानीय बासिन्दा र जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको दमकलको सहायताले करिव साढे १ बजे नियन्त्रणमा आएको प्रनाउ नेउपानेले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।