संग्रौलामाथि लागेको आरोप छानविन गर्न समिति गठन

15

भक्तपुर ।  काठमाण्डौं स्कुल अफ ल (केएसएल)का कार्यकारी निर्देशक डा. युवराज संग्रौला जोडिएको यौन दुव्र्यवहार सम्बन्धी आरोपका विषयमा छानविन गर्न व्यवस्थापन समितिले जाँचबुझ समिति गठन गरेको छ । केएसएलले आइतवार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
समितिको संयोजकमा पुर्व जिल्ला न्यायधिश डा. श्रीकृष्ण भट्टराई रहेका छन भने सदस्यहरुमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सिमा धामी रहेका छन । समितिलाई काम शुरु भएको मितिले १५ दिनको समयावधी दिईएको छ ।
केएसएलले भट्टराई संयोजकत्वको समितिलाई ‘तटस्थ जाँचबुझ समिति’को संज्ञा दिईएको छ । समितिको कार्यालय केएसएलमा नै रहने र सदस्य सचिव कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक हुने पत्रकार सम्मेलनमा जानकारी दिए ।
समितिलाई १५ दिनभित्र उजुरीबारे छानबिन गरेर व्यवस्थापन समिति समक्ष राय पेश गर्ने जिम्मेवारी दिईएको छ । समितिलाई प्राप्त निवेदनहरूमाथि छानबिन गर्ने, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेर तथ्य प्रमाण बुझ्ने र प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिईएको छ ।
केएसएलको पाँचौं वर्षमा अध्ययनरत एक छात्राले सामाजिक सञ्जाल इन्स्ट्रागाम मार्फत पूर्वमहान्यायाधिवक्ता समेत रहेका कार्यकारी निर्देशक संग्रौलालगायतका प्राध्यापकहरुले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेकी थिइन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूप्रति कलेज अनुदार रहेको आरोप समेत लगाएका छन ।
गत फागुन २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भिडियो सामग्रीमा ती छात्राले आफु माथि भएको दुव्र्यवहारको सम्बन्धमा गत डिसेम्बर २५, २०२४ मा कलेज प्रशासन समक्ष छानविन गर्न माग गर्दै निवेदन दिएको तर त्यसको कुनै सुनुवाई नभएको दावी गरिएको छ ।
त्यसपछि केएसएलका अरु विद्यार्थीले पनि आफूहरू पनि त्यस्तै खालको दुव्र्यवहारका पीडित भएको भन्दै सार्वजनिक गर्न थालेका छन् । शुक्रबार मात्रै यस घटनाबारे ऐक्यबद्धता जनाउँदै सन् २००५ यता केएसएलमा पढेका १०३ जना पूर्वविद्यार्थीले आफ्नो परिचयसहित र ४७ जनाले परिचय गोप्य राख्ने सर्तमा हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेका छन् ।
जसमा उनीहरूले हालै एक विद्यार्थीले कलेजभित्र हुने दुव्र्यवहार, यौन उत्पीडनबारे खुलेर आवाज उठाउने साहस देखाएको भन्दै उनले अघि सारेका मुद्दाहरूमा ऐक्यबद्धता जनाउने बताएका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अपमानजन्य, हेपाइजन्य र यौनजन्य टिप्पणीका अलवा यौन तथा लैंगिक अल्पसंख्यकविरुद्धका अभिव्यक्ति र व्यवहारहरू कुनै पनि संस्थामा स्वीकार्य हुन सक्दैन । ती छात्राले उठाएको आवाज व्यक्तिगत प्रतिसोध मात्रै नभएर न्याय, समानता र पारदर्शीतामा विश्वास राख्ने सबैको आह्वान हो ।’
पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि बसेको केएसएलको व्यवस्थापन समितिको बैठकले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक संग्रौलाले स्वतन्त्र छानविनलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । “यो समितिले काम गरुञ्जेलसम्म म न्यूट्रल बस्छु । यो काममा मेरो कुनै हस्तक्षेप हुँदैन”, उहाँले भन्नुभयो ।
उहाँले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको समेत बताउनुभयो । उहाँले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरूपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
उहाँले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताउनुभयो । कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ट्रायल गर्ने हो भने राम्रा मान्छेहरू पीडित हुने उहाँको भनाइ छ ।


उहाँले भन्नुभयो, “राज्यको कुनै अनुसन्धान निकायले त्यस्तो सूचना प्राप्त गर्छ र अनुसन्धान गर्छ भने मलाई हतकडी लगाएर लैजान सक्छ । यो देशमा खुला र स्वतन्त्र न्यायपालिका छ, अनुसन्धान गर्ने प्रहरी प्रशासन छ‚ महान्यायाधिवक्ताको कार्यालय छ, जसमाथि मेरो विश्वास छ । यसमा मिडिया ट्रायल हुन थाल्यो भने युवराज संग्रौला मात्रै समाप्त हुँदैन, तर नराम्राहरूको त उन्नति हुँदै जाला तर राम्रा जति सिद्धिन्छन् ।”
उहाँले छानविनको लागि स्वतन्त्र समिति गठन भइसकेको र त्यसमा कलेजका व्यक्तिहरू नभएको बताउँदैं भन्नुभयो, “उहाँहरूले सोधेको कुरा मलाई जानकारी दिने अधिकार छ, केही दर्जन विद्यार्थीले दुव्र्यवहार भएको भनेको छ, त्यो भए कलेजमा अहिले ११०० विद्यार्थी छन्, उनीहरूलाई पनि सोध्नुपर्छ ।”
केएसएलका ती छात्राले २५ डिसेम्बर २०२४ मा उजुरी दर्ता गराएपनि त्यसको केही दिन पछि नै परीक्षा शुरु भएकोले कलेजको आन्तरिक उजुरी तथा गुनासा समितिले विद्यार्थीका हकमा सोधपुछ गर्न सम्भव नभएको तर शिक्षक र कर्मचारीका हकमा जाँचबुझको प्रक्रिया शुरु गरिसकेको दावी कलेजका सूचना सञ्चार तथा विद्यार्थी कल्याण विभागका प्रमुख सहायक प्राध्यापक रुविन श्रेष्ठले पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा ती छात्राले आफुले दिएको उजुरीका विषयमा के भइरहेको छ भन्ने विषयमा कलेजमा सम्पर्क नै नगरी आफ्नो परीक्षा सकिएपछि सामाजिक सञ्जालमा सिधै पोष्ट गरेको आरोप लगाएको छ ।
कलेजका एक छात्राले कलेज र शिक्षकहरु उपर गलत नियतले एकपक्षीय रुपमा सामाजिक सञ्जालमा पोष्ट गरेर लगाएका आक्षेपहरुलाई नै आधार बनाएर कलेज र शिक्षकहरुको प्रतिष्ठामा आँच पु¥याउने गरी अतिरञ्जित गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा आरोप लगाउने छात्रा कलेजको उत्कृष्ट मध्येको एक रहेको उल्लेख छ । कलेजले उनलाई कलेजकै खर्चमा हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतले आयोजना गर्ने नुरेम्वर्ग अभ्यास अदालत (मुट कोर्ट) र अन्य विभिन्न प्रतियोगितामा सामेल गराएको र सार्वजनिक कार्यक्रम आयोजना गरी अभिनन्दन समेत गरेको जनाउँदैं कलेज ती छात्राप्रति पुर्वाग्रही नरहेको दावी गरेको छ ।
विज्ञप्तीमा कलेजले नेपालमै पहिलो पटक सन् २०२० मा एलजिबिटिक्यूको मानवअधिकार सम्बन्धमा अभ्यास अदालत (मुट कोर्ट) प्रतियोगिता आयोजना गरेको स्मरण गराउँदैं छात्राले लगाएको एलजिबिटिक्यू सम्बन्धी आरोप सफेद झुठ भएको दावी गरिएको छ ।
विज्ञप्तीमा कलेजले स्थापनाको २५ वर्षको दौरान संस्थापक, सयौं प्राध्यापक र हजारौं विद्यार्थीलगायतको मेहनत, पसिनाले राष्ट्रिय÷अन्त्राष्ट्रिय रुपमा गर्विलो इतिहास बनाएको केएसएललाई नियोजित रुपमा एक जना व्यक्तिले लगाएको आरोपकै आधारमा समाचार प्रकाशित नगरी दिनुहुन अनुरोध समेत गरिएको छ ।
सामाजिक सञ्जालमा एक जना व्यक्तिले अभिव्यक्त गरेको विषयलाई तथ्यगत जाँचबुझ नगरी एकतर्फी समाचार बनाउने कार्य मिडिया ट्रायल हुने र जसबाट निर्दोषहरु समेत आहातित हुन पुग्ने भन्दै एक जना व्यक्तिका कारण १४ जना शिक्षकको परिवार आहातित भइरहेको विज्ञप्तीमा उल्लेख छ ।
“सामाजिक सञ्जालहरुबाट आरोपहरु लगाउने र त्यसकै आधारमा मिडिया ट्रायल हुने हो भने सामाजिक मर्यादा र स्थापित न्याय प्रणाली खल्बल्याउने निश्चित छ,” विज्ञप्तीमा भनिएको छ ।