पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा

11

काठमाडौं – ठूलो बजेटमा निर्माण हुन लागेको चिनियाँ चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’ को ५० प्रतिशत छायांकन नेपालमा हुने भएको छ। काठमाडौं, चितवन, र लुम्बिनी लगायतका स्थानमा फिल्म छायांकन गरिने पर्यटन व्यवसायी प्रभाकर खड्काले जानकारी दिनुभयो। खड्का यस चलचित्रको नेपाल संयोजक हुनुहुन्छ।

हेरी द्वारा निर्देशित यो चलचित्र निर्माणको काम करिब पाँच वर्षअगाडि सुरु भएको थियो। “महामारीलगायत विभिन्न कारणले ढिलाइ भए पनि अब तीव्र गतिमा छायांकन हुनेछ,” खड्काले बताउनुभयो।

चलचित्रको बजेट २५० मिलियन आरएनबी (करिब चार अर्ब ८० करोड नेपाली रुपैयाँ) रहेको छ। चिनियाँ चलचित्र उद्योगका शीर्ष कलाकारहरू यस फिल्ममा अभिनय गर्नेछन्।

होलीको दृश्य खिचियो, मुख्य छायांकन अगस्टमा

हाल २० जनाको निर्माण टोली काठमाडौंमा छ, जसले होली पर्वको दिन हनुमान ढोका दरबार परिसरमा शुभमुहूर्त गर्दै केही दृश्यहरू खिचेको छ। नेपाली संस्कृति झल्काउने उद्देश्यले होलीको दृश्य छायांकन गरिएको हो।

“नेपाल बुद्धको भूमि भएकाले यहाँको संस्कृति समेट्न फिल्म छायांकन गर्न लागिएको हो,” संयोजक खड्काले बताउनुभयो। निर्माण टोली भोलि चीन फर्कनेछ, तर अगस्टमा २०० जनाको टोली तीन हप्ताका लागि नेपाल आउने छ।

नेपाली कलाकारको सहभागिता र ट्राफिक चिन्ता

चलचित्रमा केही नेपाली कलाकार पनि रहनेछन्, तर हालसम्म उनीहरूको नाम टुंगो लाग्न बाँकी छ। निर्माण टोलीलाई नेपालको व्यस्त ट्राफिक देखेर केही असहज लागेको भए पनि प्रशासन र स्थानीयको सहयोगले छायांकन सहज हुने अपेक्षा गरिएको छ।

२०२६ को चिनियाँ नयाँ वर्षमा रिलिज

चलचित्र सन् २०२६ को चिनियाँ नयाँ वर्ष (फेब्रुअरीको पहिलो हप्ता) मा रिलिज गर्ने लक्ष्य राखिएको छ। नेपालमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको छ। “लिभ फरेवर एन्ड नेभर डाई ०२६ मा चीनमा सबैभन्दा धेरै बक्स अफिस कलेक्सन गर्ने चलचित्र बनाउने योजना निर्माणपक्षले बनाएको छ,” खड्काले बताउनुभयो।