भक्तपुर । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुर र मध्यपुर थिमी नगरपालिकाको संयुक्त आयोजनामा गैरसरकारी संस्थाहरुले भोग्नुपरेका समस्या र चुनौती तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया साथै बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरकी अध्यक्ष अनिता पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण हरि आचार्यले हाम्रो भक्तपुर जिल्ला एवं यस मध्यपुरथिमि नगरपालिका अन्तर्गत रहेका सामाजिक संघसंस्थालाई हाम्रो मध्यपुरथिमि नगरपालिकाले समन्वय गरेसँगै हाम्रो वडा र नगरपालिकाको साथ र सहयोग सदैव रहने बताउनुभयो।
त्यस्तै कार्यक्रममा गैरसरकारी महासंघ केन्द्रका अध्यक्ष अर्जुनकमार भट्टराईले गैर सरकारी संघसंस्थामा अनेकौं चुनौती आएपनि यहाँ आबद्ध संघसंस्थाले सामाजिक कार्यक्षेत्रमा अझ सबल ढंगले लाग्नुभएकोमा हर्ष व्यक्त गर्नुभयो।
उहाँले यस डिजिटल युगमा हामी सामाजिक संघसंस्थाहरु पनि डिजिटल प्रविधिसँगै जोडिँदै जाँदा सामाजिक क्षेत्र र सामाजिक कार्यमा पनि टेवा मिल्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले गैर सरकारी संस्था महासंघको चुनौतीका बारेमा चर्चा गर्दै यस महासंघमा आबद्ध हरेक संघसंस्थालाई आफ्नो क्षेत्रमा चुनौती भएतापनि साथसहयोग दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा प्रहरी उपरीक्षक सुकदेव पौडेलले लागू औषधका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने मध्यपुथिमी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र भट्टले मध्यपुर थिमी नगरपालिकामा भएका गैससहरूको अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो।
त्यस्तै गैसस भक्तपुरका रमेश गिरीले गैससहरूका समस्या तथा चुनौतीका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा गैसस केन्द्रमा हालै निर्वाचित भएका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना पनि दिइएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार, गैसस केन्द्रका उपमहासचिव किरण थापा, भवराज रेग्मी, सचिव जयराज शाही, सदस्य विष्णुदेवी रावल तथा केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज पहलमान श्रेष्ठ र गैसस महासंघ जिल्ला शाखा भक्तपुरमा आबद्ध हुनुभएका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।