मण्डनदेउपुर — मण्डनदेउपुर नगरपालिका–२, ठकुरी गाउँस्थित मिस्टिक माउन्टेन होटलको कम्पाउन्डमा आज भएको एक दुखद सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार, ना.२ ख २४६४ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा झण्डै ७ मिटर तल खस्दा सोही टिपरका चालक ३१ वर्षीय विनोद घोरासाईनेको घटनास्थलमै मृत्यु भएको हो। उनी काभ्रेको मेसागाउँका बासिन्दा थिए।
घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यस दुर्घटनाले स्थानीयवासी तथा होटलका कर्मचारीहरूलाई समेत स्तब्ध बनाएको छ। दुर्घटनाको कारण प्राविधिक समस्या कि मानवीय त्रुटि भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।