नगरकोट भ्रमण वर्ष २०८२ सुरु, राष्ट्रपति पौडेलद्वारा उद्घाटन

21

भक्तपुर । अन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित नगरकोट भ्रमण वर्ष २०८२ आजबाट औपचारिक रूपमा सुरु भएको छ। भ्रमण वर्षको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले नगरकोटमा एक विशेष समारोहका बीच गर्नुभयो।

समारोहमा राष्ट्रपति पौडेलले नेपालको समग्र आर्थिक विकासमा पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “यी क्षेत्रमा विद्यमान समस्या समाधान गरी उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको दायित्व हो।”

रोजगारीका अवसर सिर्जना, लगानीमैत्री वातावरण निर्माण र औद्योगीकरणमा जोड दिनुपर्नेमा राष्ट्रपति पौडेलले विशेष जोड दिनुभयो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भ्रमण वर्षले नगरकोट मात्र होइन, समग्र राष्ट्रको अर्थतन्त्रमा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले तीन तहका सरकार निजी क्षेत्रको लगानी बढाउन प्रतिबद्ध रहेको जनाउनुभयो।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षबाट आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

संयुक्त आयोजनामा पर्यटन प्रवर्धन

नगरकोट भ्रमण वर्ष भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा काठमाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा सुरु गरिएको हो। एक वर्षभर विभिन्न पर्यटन, सांस्कृतिक र विकास सम्बन्धी कार्यक्रम चारै पालिकाभित्र सञ्चालन हुनेछन्।

तीन दिने विशेष कार्यक्रम

उद्घाटन सन्दर्भमा आयोजित तीन दिने कार्यक्रम अन्तरगत ५० भन्दा बढी स्टल, स्थानीय कृषि उत्पादन, फूड स्टल, झाँकी र चित्रकला प्रदर्शनीसमेत राखिएको छ। एक सय जना कलाकारले नगरकोटका सम्पदा चित्रमा उतार्ने कार्य पनि भइरहेको छ।

लक्ष्य: १० लाख आन्तरिक, १ लाख विदेशी पर्यटक

नगरकोट भ्रमण वर्षको अवधिमा कम्तीमा १० लाख आन्तरिक र १ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। होटल व्यवसायीहरूले वैशाख १ देखि ३ गतेसम्म १५ प्रतिशत छुट तथा पूरै भ्रमण वर्षभर १० प्रतिशत छुट दिने घोषणा गरेका छन्।

संरचना विकासमा पनि ध्यान

भ्रमण वर्षलाई प्रभावकारी बनाउन पदमार्ग तथा सडक स्तरोन्नति, होमस्टे विस्तार, सिधा बस सेवा र कला सङ्ग्रहालय स्थापनाजस्ता संरचना विकासका काम समेत अघि बढाइने बताइएको छ।