भक्तपुरमा पहिलोपटक दीप श्रेष्ठको एकल सांगीतिक साँझहुँदै 

"एक साँझ दीपसँग – कालजयी स्वरको यात्रामा"

365

भक्तपुर ।  नेपाली सांगीतिक जगतका एक कालजयी नाम, वरिष्ठ गायक एवं संगीतकार श्री दीप श्रेष्ठको एकल प्रस्तुतिमा सांगीतिक साँझ कार्यक्रम भक्तपुरमा पहिलोपटक आयोजना हुने भएको छ।

भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा कार्यक्रम २०८२ वैशाख २० गते, शनिवार इम्पेरियल बैंक्वेट, सल्लाघारी भक्तपुरमा हुने तय भएको आयोजकले जानकारी दिएका छन् ।

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिने यस कार्यक्रममार्फत वरिष्ठ गायक दीप श्रेष्ठले आफ्ना कालजयी र मन छुने गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुहुनेछ। कार्यक्रममा उहाँबाट १२ देखि १५ वटा लोकप्रिय गीतहरू लाई Live Music Band को साथमा प्रस्तुत गरिने भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट ब्रज्राचार्यले जानकारी दिनुभयो ।

करिब १००० देखि १२०० सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रममा उद्योगी, व्यवसायी, पेशाकर्मी, तथा संगीतप्रेमीहरूको व्यापक सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको टिकट दर रु. १०००/-, १५००/- र २५००/- निर्धारण गरिएको समेत बज्राचार्यले जानकारी दिनुभयो ।
यस्तै उहाँका अनुसार कार्यक्रमस्थलमा स्थानीय उत्पादन, परिकारका स्टलहरू पनि उपलब्ध हुनेछन्।

यस्तो खाले ठूला स्तरको सांगीतिक प्रस्तुति भक्तपुरमा दुर्लभ हुने गरेको पृष्ठभूमिमा, दीप श्रेष्ठजस्तो वरिष्ठ कलाकारको एकल साँझले युवादेखि वृद्धसम्मलाई समेट्ने मनोरञ्जन दिने आयोजकको विश्वास रहेको छ ।  यस कार्यक्रमबाट भक्तपुरको सांगीतिक क्षेत्रको व्यावसायिक सम्भावनामा पनि नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।

 

कार्यक्रम संयोजकका रूपमा रोशन धौभडेल रहनु भएको छ । यस्तै कार्यक्रममा भक्तपुर सांगीतिक समाज अन्तर्गतका स्थानीय कलाकारहरूले पनि आफ्ना प्रस्तुति दिने आयोजकले जानकारी दिएका छन् ।