भक्तपुर – चाँगुनारायण नगरपालिका क्षेत्रभित्र अवैध रूपमा भइरहेको माटो र बालुवा उत्खनन तथा तस्करी नियन्त्रण गर्न नगरपालिका सक्रिय बनेको छ। सामाजिक सञ्जालमार्फत जनस्तरबाट व्यापक आलोचना भएपछि नगरपालिकाले तत्काल कारबाही थालेको हो।
नगरपालिकाको दुवाकोटस्थित स्याल डाँडामा डाँडा नै खोतलिँदै माटो र बालुवा तस्करी भइरहेको सूचना आधारमा उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा आइतबार गरिएको अनुगमनमा दुईवटा एक्सकाभेटर नियन्त्रणमा लिइएको हो।
उपप्रमुख बुढाथोकीका अनुसार, “उक्त स्थानमा आज पुनः अनुगमन गरी कति मात्रामा माटो तथा बालुवा उत्खनन भयो भन्ने विषयमा विस्तृत छानबिन हुनेछ। तस्करहरूलाई कानूनी दायरामा ल्याइनेछ।”
२०७९ चैत २० गतेको नगर कार्यपालिकाको निर्णयअनुसार, अधिकतम चार आना जग्गा सम्याउन मात्र स्वीकृति दिने भनिए पनि नियम उल्लंघन गर्दै रातिको समयमा एक्सकाभेटर प्रयोग गरी अवैध उत्खनन भइरहेको पाइएको छ।
वडा नं. १ का अध्यक्ष सिजन कार्कीले जग्गा प्लटिङको नाममा भइरहेको अवैध उत्खननले नगरको वातावरणीय र भौगोलिक सन्तुलनमा गम्भीर असर पार्ने चेतावनी दिनुभयो। “स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पटक–पटक जानकारी दिँदा पनि अपेक्षित कारबाही नहुनु दुःखद हो,” उहाँले भन्नुभयो।
यसअघि पनि वडा नं. ९ ताथलीस्थित क्यान्सर सेन्टरको गेट प्रयोग गरी पछाडिको थुम्को सम्याएर माटो तस्करी गरिएको थियो। उक्त घटनामा उपप्रमुख बुढाथोकीले क्यान्सर सेन्टरको गेटमै ताला लगाउने निर्णय गर्नुभएको थियो।
नगरपालिकाले अवैध उत्खनन र तस्करी नियन्त्रणका लागि आगामी दिनहरूमा स्थानीय प्रशासन, प्रहरी र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै कडाइका साथ निगरानी र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।