जग्गा नपाए अंग प्रत्यारोपण केन्द्र स्थानान्तरण हुने चेतावनी : मन्त्री पौडेल

58

भक्तपुर – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई भक्तपुरमै राख्नुपर्ने हो भने आवश्यक जग्गा तुरुन्त उपलब्ध गराउन आग्रह गर्दै, त्यसो हुन नसके केन्द्र अन्यत्र स्थानान्तरण गर्न बाध्य हुने चेतावनी दिनुभएको छ।

केन्द्रको १३औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सेवा विस्तारका लागि केन्द्रले थप पूर्वाधार आवश्यक पारेको बताउँदै भन्नुभयो, “भक्तपुरमा उपयुक्त जग्गा उपलब्ध नभएमा, विकल्पका रूपमा अन्यत्र सार्नुपर्ने अवस्था आउन सक्छ।”

उहाँले उपयुक्त स्थानबाट केन्द्र स्थानान्तरणको प्रस्ताव समेत आइसकेको खुलासा गर्दै स्थानको नाम भने खुलाउन चाहनुभएन। केन्द्रलाई झौखेलमा सार्ने प्रयास वर्षौंदेखि अल्झिँदै आए पनि, केन्द्रले उक्त स्थानलाई अनुपयुक्त भन्दै अस्वीकार गर्दै आएको छ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले झौखेलबाहेक सुडालमा रहेको ३५ रोपनी १२ आना जग्गा केन्द्रलाई उपलब्ध गराउने निर्णय गरिसकेको जानकारी दिनुभयो। “अब मन्त्रिपरिषद्बाट स्वीकृति पाउने बाँकी छ,”  श्रेष्ठले बताउनुभयो।

त्यसैगरी, केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले स्थान अभावका कारण केन्द्रले मागअनुसार सेवा दिन नसकेको गुनासो गरे। भक्तपुर अस्पताल परिसरमा रहेको केन्द्रले अस्पतालकै जग्गा र भवन ओगटेकाले दुबै संस्था सेवा विस्तारमा असहज भएको उनीहरूको भनाइ छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, प्रहरी प्रमुख एसपी माधव बुढाथोकी, चिकित्सक, कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।