भक्तपुर – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकारको माग मात्रै गर्दै कर्तव्यप्रति बेवास्ता गर्ने प्रवृत्तिका कारण जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरू गुम्ने खतरा बढ्दै गएको चेतावनी दिनुभएको छ।
स्वर्गीय प्रजातान्त्रिक नेता जगन्नाथ आचार्यको १०२औं जन्मजयन्तीका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले २०४६ सालको जनआन्दोलनदेखि २०६२/०६३ को आन्दोलनसम्म विभिन्न दलहरू एक भएर गरेका संघर्षकै परिणामस्वरूप आजको व्यवस्था सम्भव भएको बताउँदै त्यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
“अहिलेका युवाहरू लहैलहैमा लाग्ने हो भने कठिन संघर्षबाट प्राप्त अधिकारहरू गुम्ने सम्भावना रहन्छ,” उहाँले भन्नुभयो, “लोकतन्त्र धेरै त्याग र बलिदानले प्राप्त गरिएको हो, यसलाई जोगाउन दलहरू फेरि पनि एकजुट हुन जरुरी छ।”
कार्यक्रममा अन्य वक्ताहरूले पनि स्वर्गीय आचार्यको प्रजातान्त्रिक आन्दोलनमा गरिएको योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले आचार्यको साहस, निष्ठा र नेतृत्व क्षमतालाई प्रेरणाका रूपमा स्मरण गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता र स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।