भक्तपुर – नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका–८, कलमसीमा निर्माण भइरहेको कल्पेश्वर धामको लागि आयोजना गरिएको शिवपुराण महायज्ञमा बिहीबार साँझसम्म एक करोड २० लाख रुपैयाँ संकलन भएको छ। महायज्ञ वैशाख २ गतेदेखि सुरु भएको हो।
चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीका अनुसार करिब ८० रोपनी क्षेत्रफलमा निर्माणाधीन धाममा १०८ फिट अग्लो महादेवको बसेको मूर्तिसहित १००८ शिवलिङ्ग स्थापना गरिनेछ। “महादेवको मूर्ति मात्र निर्माण गर्न करिब दुई करोड रुपैयाँ लाग्ने भएकाले महायज्ञबाट सहयोग संकलन थालिएको हो,” उहाँले जानकारी दिनुभयो।
महायज्ञमा हालसम्म ७५ जना भन्दा बढी भक्तजनले शिवलिङ्ग स्थापनाको लागि जनही ३५ हजार रुपैयाँको दरले दान संकल्प गरिसकेका छन्। साथै, ‘एक फिट मेरो योगदान’ अभियानमार्फत महादेव मूर्तिको निर्माणको लागि प्रतिफुट तीन लाख रुपैयाँ सहयोग गर्ने दस जना दाताहरू अघि आइसकेका छन्।
महायज्ञ आयोजनाको मूल उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्दै नगरकोट क्षेत्रलाई विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउनु रहेको आयोजक समितिको भनाइ छ। यस सन्दर्भमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउने लक्ष्यसहित गुरुयोजना अनुरूप महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो।
योजना अनुसार हालसम्म करिब ६ करोड रुपैयाँ लगानीमा विभिन्न संरचनाहरू निर्माण भइसकेका छन्। गुरुयोजनाअनुसार बाँकी संरचनाहरूमा मूर्ति निर्माणसँगै यात्री विश्राम गृह, दर्शन मार्ग, जलकुण्ड, मन्दिर परिसर विस्तारजस्ता निर्माण कार्य समावेश छन्।
शिवतान्त्रिक गुरु बुद्धिकुमार खडगीका अनुसार यस क्षेत्रमा विशेष धार्मिक शक्ति रहेकोले मूर्ति स्थापनाको परिकल्पना गरिएको हो। गुरुका अनुसार यहाँको धार्मिक महत्वलाई ध्यानमा राख्दै गुरुयोजना तयार पारिएको र निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।
स्थानीय जेष्ठ नागरिकका अनुसार सुडालस्थित ठुली ब्रह्मायणी मन्दिरबाट रातको समयमा सेतो बाघ कल्पेश्वर परिसर हुँदै गणेश ढुंगासम्म आउजाउ गर्ने गरेको जनविश्वास छ।
धार्मिक तथा भौगोलिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको कल्पेश्वर धाम नगरकोट भ्यु टावर, बोजिनी ड्याम र काठमाडौंबाट सुलभ दूरीमा अवस्थित छ। यस क्षेत्रबाट काभ्रेको बनेपा, नाला, धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।
धाम आसपास क्षेत्रका धार्मिक सम्पदाहरूमा नाग कुण्ड, गोसाईकुण्ड, २७ धारा, नारायण कुण्ड, सपनेश्वर महादेव, ठुली ब्रह्मायणी, बालकुमारी, सरस्वती, मणिकर्णिका, वाल्मिकेश्वर, बागेहिणी, लोकेश्वर तथा रजपुरेश्वर महादेव मन्दिरहरू रहेका छन्।