नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र चाँगुनारायण नगरपालिकाको साझेदारीमा तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य–बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत आज चाँगुनारायण नगरपालिका वडा नं. १, सरस्वतीखेलमा जेष्ठ नागरिकसँग सम्बन्धित समसामयिक विषयवस्तुमा आधारित कचहरी नाटक प्रदर्शन गरिएको छ।
नाटकले जेष्ठ नागरिकका अधिकार, सामाजिक सुरक्षा, सम्मानजनक जीवनयापन र उनीहरूलाई आवश्यक पर्ने सेवासुविधाका विषयमा जनचेतना फैलाउने उद्देश्य राखेको थियो। कार्यक्रममार्फत जेष्ठ नागरिकप्रतिको सम्मान, समझदारी र जिम्मेवारीबोध गराउने सन्देश प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष श्री सिजन कार्की, निवर्तमान अध्यक्ष श्री राजेश खड्का, वडा सदस्यहरू, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सदस्य श्री ऋषि खड्का र श्रीमती सचिला खड्का, सरस्वतीखेल उपशाखाका सभापति श्री ज्ञानकृष्ण श्रेष्ठ, तथा नेरेसो भक्तपुर जिल्ला शाखाका कार्यालय प्रमुख एवं सहारा परियोजनाका संयोजक श्रीमती उमा थापा लगायतको विशेष उपस्थिति रहेको थियो।
उक्त नाटक जेष्ठ नागरिक मिलन चौतारीका सदस्यहरू तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका स्वयंसेवकहरूद्वारा सजीव रूपमा प्रस्तुत गरिएको थियो।
यस किसिमका कार्यक्रमले समाजमा जेष्ठ नागरिकप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पु¥याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।