दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सव–इन्जिनियर पौड्यालविरुद्ध तीन करोडभन्दा बढी भ्रष्टाचार मुद्दा

28

गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा श्रीमतीसमेत प्रतिवादी

काठमाडौँ  — उपत्यका विकास प्राधिकरण अन्तर्गत सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियरका रूपमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पौड्यालले वि.सं. २०५१ वैशाख ९ देखि २०८० असार ३१ सम्म सार्वजनिक सेवामा कार्यरत रहँदा पदीय मर्यादा विपरीत कार्य गरी गैरकानुनी ढंगले ठूलो मात्रामा सम्पत्ति आर्जन गरेका थिए।

वैद्य आय र व्ययको विवरण

अनुसन्धानका क्रममा पौड्यालले सो अवधिमा तलबी पारिश्रमिक, बैठक भत्ता, निज तथा परिवारको नाममा रहेको जग्गा बिक्री आय, विमा परिपक्व आय, लाभांश, ऋण र कृषि आयसमेत गरी जम्मा २ करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ वैद्य स्रोतबाट आर्जन गरेका थिए। तर, सोही अवधिमा घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, निजी कम्पनीमा लगानी, सवारीसाधन र सुन खरिद, शेयर खरिद, ऋण भुक्तानी, विमा प्रिमियम, तथा बैंक मौज्दातजस्ता शीर्षकमा ६ करोड २२ लाख १८ हजार ५३२ रुपैयाँ खर्च गरिएको देखिएको छ।

यो आधारमा कुल व्ययमा कुल आय घटाउँदा ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ स्रोत नखुलेको गैरकानुनी सम्पत्ति देखिएको आयोगको निष्कर्ष छ।