भक्तपुर, :- भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटबाट प्रहरीले लागूपदार्थ ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२, ओखरपौवा घर भई हाल बालकोटमा डेरा गरी बसोबास गर्दै आएका ३७ वर्षीय हरिनाथ कोईराला रहेका छन्।
गोप्य सूचनाका आधारमा लागूऔषध बिक्री वितरणमा संलग्न रहेको आशंकामा खटिएको प्रहरी टोलीले उनलाई उनकै डेरा कोठाबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानेका अनुसार कोईरालाको साथबाट १ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
डिएसपी नेउपानेका अनुसार उनलाई लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।