भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

25

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका १० भातेढिकुरबाट हिजो बेलुकी (शुक्रबार) मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका ११ तेर्से घर भई काभ्रेपलान्चोकको बनेपा बस्दै आएका २८  बर्षीय प्रतिमान गोले  रहेका छन् ।

बाग्मती प्रदेश ०२-०५६ प १२५२ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल तनहुँको भानु नगरपालिका २ घर भएका वासुदेब लोहनीले यही जेठ २ गते काठमाडौँको टोखा नगरपालिका ३ धनेश्वरबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

मोटरसाईकल सहित नियन्त्रणमा आएका गोलेलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।