भूकम्प प्रभावितलाई राहत स्वरुप उपलब्ध गराउन लागिएको ट्याक्सीको नम्बर प्लेट यही असार ७, ८ र ९ गते वितरण गरिने भएको छ । स्थानीय चुनावका कारण धेरैपटक वितरणको मिति सर्दै आएको थियो । अब भने मिति सर्ने सम्भावना नरहेको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए ।
०७३ चैतमै दिने भनिएको ट्याक्सी नम्बर प्लेट यातायात व्यवस्था विभागले तयारी नपुगेको भन्दै वैशाखमा दिने भन्यो । वैशाखमा पहिलो चरणको चुनावले सारिएको ट्याक्सी वितरण पुनः रोकिएको थियो ।
असार ७, ८ र ९ गते दिने गरी सूचना प्रकाशनदेखि सबै तयारी गरिएको महानिर्देशक भट्टराईको भनाइ छ । “स्थानीय चुनावलगायत विभिन्न कारण रोकिएको ट्याक्सी नम्बर प्लेट वितरण प्रक्रिया अब भने तोकिएकै समयमा हुनेमा हामी विश्वस्त छौं,” उनले भने, “यसका लागि आवश्यक सबै तयारी तीव्र बनाइएको छ ।”
सरकारले ०७२ को भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दर्ता गर्न आवेदन माग गरेको थियो । यातायात व्यवस्था कार्यालय बागमती साना÷ठूला सवारीले ०७३ साउन ५ गतेदेखि भदौ ५ गतेसम्म ट्याक्सी दर्ताका लागि आवेदन लिएको थियो ।
एक महिनाको अवधिमा भूकम्प प्रभावित जिल्लाका भूकम्पपीडित परिचयपत्र भएकाहरूले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । उक्त अवधिमा १ लाख ४९ हजार आवेदन कार्यालयमा पेस भएको थियो । विनाशकारी भूकम्पबाट अति प्रभावितहरूलाई राहत मिलोस र रोजगारीको वातावरण बनोस भनेर सरकारले गरेको निर्णयअनुसार १५ सय नयाँ ट्याक्सी दर्ता गर्न दिने निर्णय सरकारले गरेको थियो ।
१५ सय नयाँ ट्याक्सी २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट अति प्रभाविग १४ जिल्लाका पीडितहरूले पाउने व्यवस्था सरकारले गरेको हो । १ लाख ४९ हजार आवेदकहरू मध्येबाट गोला प्रथा गरि ट्याक्सी नम्बर प्लेट वितरण गरिने छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका प्रभावितलाई सरकारले गत वर्ष १५ सय ट्याक्सी नम्बर प्लेट दिने निर्णय गरेको थियो ।
उक्त आवेदनबाट सरकारले गोला प्रथा गरी १५ सय निवेदकलाई ट्याक्सी दर्ताका लागि नम्बर प्लेट दिनेछ । बागमती अञ्चलमा सरकारले खुल्ला गरेको बेलाबाहेक अरू समयमा ट्याक्सी दर्ता गर्न पाइँदैन ।
त्यसैले करिब २ वर्षअघि सरकारले बागमती अञ्चलमा नयाँ ट्याक्सीको दर्ता खुला गर्दा १५ सयवटा कोटा भूकम्प प्रभावितलाई समेत दिने निर्णय गरेको थियो । गत वर्ष बागमती अञ्चलमा १८ सय ५० नयाँ ट्याक्सी दर्ता भएका थिए ।