वागीश्वरी मा.वि.मा ६४० नयाँ विद्यार्थी भर्ना

13

 

स्वागत र पुरस्कार वितरणसहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

भक्तपुर — वागीश्वरी माध्यमिक विद्यालय, भक्तपुरले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा विद्यालयमा यस वर्ष मात्रै ६४० जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी गराइएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले “अनुशासन हाम्रो गहना, संस्कार हाम्रो सभ्यता” भन्ने नारालाई जीवन्त बनाउँदै विद्यालयले अनुशासन, संस्कार र गुणस्तरीय शिक्षाको उदाहरणीय अभ्यास गर्दै आएको बताउनुभयो।

वडाध्यक्ष ज्याख्वले वागीश्वरी विद्यालयमा पीजीदेखि स्नातकोत्तर तहसम्म अध्ययनको व्यवस्था रहेको र शिक्षक, कर्मचारी तथा पदाधिकारीहरूले आफ्नै सन्तानलाई पनि यही विद्यालयमा अध्ययन गराइ उदाहरणीय बनाएको उल्लेख गर्नुभयो। अभिभावकहरूको विश्वास, विद्यार्थीहरूको अनुशासन, शिक्षकको दक्षता र व्यवस्थापनको पारदर्शिताले विद्यालय सफल भएको बताउँदै उहाँले विद्यालयको समृद्ध भविष्यप्रति विश्वास व्यक्त गर्नुभयो।

शिक्षा विकास निर्देशनालय, हेटौंडाका योजना प्रमुख पवित्रा तिमल्सिनाले सरकारी विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दो अवस्थामा वागीश्वरी मा.वि.मा नयाँ भर्नाको उत्साहजनक संख्याले आफू प्रभावित भएको बताउँदै यस विद्यालयले नमूना विद्यालयका अभ्यासहरू सशक्त रूपमा आत्मसात गरेकोमा प्रशंसा गर्नुभयो।

कार्यक्रम सभापति तथा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले शैक्षिक सत्र २०८२ मा पीजीदेखि कक्षा ९ सम्म कुल ६४० नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिनुभयो। आचारसंहिता पालन, परीक्षाको पारदर्शिता, दक्ष शिक्षकहरूको सहयोग, अभिभावकको सहभागिता लगायतका कारणले वागीश्वरी नमूना विद्यालयका रूपमा स्थापित भएको उहाँले बताउनुभयो।

कार्यक्रममा विद्यालय परीक्षा संयोजक मीना प्रजापति, कार्यक्रम व्यवस्थापन संयोजक विश्वराम प्रजापति, सरस्वती विद्यागृहका प्रधानाध्यापक गनुराज राई, कक्षा ६ ‘ए’ की सोनिया शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

सांस्कृतिक कार्यक्रमको क्रममा विद्यार्थीहरूले नेपाली संस्कृति झल्काउने १७ वटा आकर्षक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा उत्साह थपेको थियो।