चाँगुनारायणमा जेष्ठ नागरिकका लागि डिजिटल साक्षरतामूलक तालिम सम्पन्न

11

भक्तपुर — चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना अन्तर्गत आज डिजिटल साक्षरतासम्बन्धी तालिम सम्पन्न गरिएको छ।

तालिममा सामाजिक परिचालक, जेष्ठ नागरिक मिलन चौतारीका प्रतिनिधि तथा रेडक्रस स्वयंसेवकहरूको सहभागिता रहेको थियो। चाँगुनारायण नगरपालिकाका सूचना प्रविधि अधिकृतको सहजीकरणमा तालिम सञ्चालन गरिएको हो।

उक्त तालिमको मुख्य उद्देश्य प्रविधिको प्रयोगमा जेष्ठ नागरिकहरूको पहुँच वृद्धि गर्नु रहेको आयोजकले बताएका छन्। तालिममार्फत जेष्ठ नागरिकहरूले स्मार्टफोन प्रयोग, इन्टरनेट पहुँच, अनलाइन जानकारीको खोजी तथा डिजिटल सेवाहरूको प्रयोग सम्बन्धी आधारभूत ज्ञान हासिल गरेको जनाइएको छ।

सहारा परियोजना अन्तर्गत सञ्चालित यस्ता तालिमहरूले प्रविधिमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा लिइएको छ।