विश्व वातावरण दिवसको अवसरमा “Youth in Climate Entrepreneurship” परियोजना सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

16

भक्तपुर — विश्व वातावरण दिवसको अवसरमा आज नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा Youth in Climate Entrepreneurship Project सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

डेनिस रेडक्रसको सहयोगमा सञ्चालित उक्त परियोजनाको उद्देश्य जलवायु परिवर्तनको प्रभावप्रति सचेतना वृद्धि गर्दै युवाहरूलाई वातावरणमैत्री उद्यमशीलतामा उत्प्रेरित गर्नु रहेको छ।

कार्यक्रममा जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरू, साथै नङ्खेल र नगरकोट उपशाखाका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले परियोजनाको अवधारणा, उद्देश्य, कार्यान्वयन रणनीति तथा आगामी गतिविधिहरूबारे जानकारी पाएका थिए।

अभिमुखीकरण सत्रमा जलवायु परिवर्तन र यसको असर, वातावरण संरक्षणका उपाय, र युवाको भूमिकाबारे अन्तरक्रिया भएको थियो। सहभागीहरूले वातावरण संरक्षणमा रेडक्रस युवाहरूको सक्रिय सहभागिता र नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका प्रतिनिधिहरूले परियोजना कार्यान्वयनमा सहकार्य र स्थानीय तहको सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै भविष्यमा अझ विस्तृत कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।