विपद् उद्धारका लागि उपकरण खरिदमा बजेट व्यवस्था गरिने: मुख्यमन्त्री लामा

10

नारायणगढ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विपद् व्यवस्थापनमा प्रभावकारीता ल्याउन आवश्यक उपकरणहरूको खरिदमा प्रदेश सरकारले आगामी बजेटमा व्यवस्था गर्ने बताउनुभएको छ।

देवघाटस्थित नारायणी नदी किनारमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित मौसमजन्य विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले प्रदेश उच्च जोखिममा रहेको भन्दै उद्धार उपकरणको अभाव गम्भीर विषय भएको उल्लेख गर्नुभयो।

“विपद् रोक्न सकिँदैन, तर त्यसबाट हुने क्षति न्यूनीकरणमा हाम्रो भूमिका महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो। “बजेटमै व्यवस्था गरेर आवश्यक उपकरण खरिद गरिन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरोकार निकायहरूको भूमिका पनि प्रशंसनीय छ।”

मुख्यमन्त्री लामाले ग्लोबल वार्मिङका कारण पहिरोको जोखिम बढिरहेको भन्दै थप सर्तक रहन सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आगामी मनसुनमा बागमती प्रदेशका १० जिल्लाका ७४ हजार घरधुरीका करिब ३ लाख ३६ हजार नागरिक जोखिममा पर्ने मन्त्रालयको आकलन रहेको जानकारी दिनुभयो।

“मनसुनजन्य विपद्का प्रभाव वागमती प्रदेशमा बढी छन्, यसका लागि पूर्वतयारी र समन्वय आवश्यक छ,” मन्त्री लामिछानेले भन्नुभयो।

कार्यक्रममा नेपाली सेनाको मध्य पृतनाका पृतनापति हरेन्द्र पाठकले प्राकृतिक प्रकोप कुनैको नियन्त्रणमा नरहेकाले यसको व्यवस्थापनमा सबै निकायको संयुक्त भूमिका आवश्यक हुने धारणा राख्नुभयो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस र नेपाल स्काउटका २०० जना उद्धारकर्मीहरूले नारायणी नदीमा बगिरहेका सर्वसाधारणको उद्धार गर्ने अभ्यासमा सहभागी भएका थिए। अभ्यासमा डुङ्गा, र्‍याफ्टिङ लगायतका उपकरणमार्फत उद्दार कार्य प्रदर्शन गरिएको थियो।

नेपाली सेनाका सेनानी सुरदर्शन बोहराले पछिल्ला पाँच वर्षमा नेपालमा बाढी, पहिरो लगायतका विपद्बाट ९१४ जनाको मृत्यु, १०१ जना वेपत्ता र ७५० जना घाइते भएको तथ्य प्रस्तुत गर्नुभयो।