काठमाडौंः दोस्रो चरणको स्थानीय तहको चुनावका लागि तोकिएको समयमै राजनीतिक दलहरुले उम्मेद्वारी दर्ता गराइसकेका छन् । चुनावसँग असन्तुष्ट बनेको मधेसवादी दल राजपाबाट पनि स्वन्तन्त्र उम्मेद्वारी दर्ता भएको छ । तर, यता सेयर बजार दोस्रो चरणको चुनावसँग शंशकित बनेको देखिन्छ । बजार लगातार दोहोरो अंकले घटेको छ । प्रदेश नम्बर २ को चुनाव असोजलाई सरेपछि राजनीतिक माहोलप्रति नै असन्तुष्ट बनेका लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा देखिएका छन् । सोमबार सेयर बजार २०.८२ अंकले घटेर १५५५.१६ अंकमा पुगेर बन्द भएको छ । समग्रमा बजार १.३२ प्रतिशतले घटेको हो । आज ६४ करोड ९८ लाख ८ हजार ३१५ रुपैयाँको सेयर कारोबार भएको छ । यो अघिल्लो दिनको कारोबारको तुलनामा केही बढी हो । कुल १३७ कम्पनीको ८ लाख १४ हजार ४५३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
अहिले लगानीकर्तामा लगानी गर्ने आत्मविश्वासमा कमि देखिएको छ । यसले बजारमा असर पारेको छ । राजनीतिक अन्योल कायम रहनु, सरकारको ढुकुटीमा थुप्रिएको रकम पर्याप्त परिचालन हुन नसक्नु, बैंकहरुले आवश्यकता अनुसार ब्याजदर नघटाउनु र सरकारको प्राथमिकतामा सेयर बजार नपर्नु मुख्य कारण रहेको विश्लेषकहरु बताउँछन् । सेयर बजार उत्पादनशिल क्षेत्र हो वा होइन भन्ने सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पनि बजारको ग्रोथ हुन नसकेको विश्लेषकहरुको धारणा छ ।
आज सबै समुह राताम्मे छन् । सबैभन्दा बढी बिमा समूह १४२.८९ अंकले घटेको छ । त्यस्तै उत्पादनमूलक समूहको सूचक २३.२५ अंकले घटेको छ भने विकास बैंक समूह पनि २१.३१ अंकले ओरालो लागेको छ । यता बजारलाई लिड गर्ने वाणिज्य बैंक समूह पनि २०.३८ अंकले रातो भएको छ । बजार घट्दा सबैभन्दा बढी कारोबार एभरेष्ट इन्सुरेन्सको भएको छ । एभरेष्टको १५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो र तेस्रोमा क्रमशः एभरेष्ट बैंक (५ करोड ९३ लाख रुपैयाँ) र प्राइम लाइफ इन्सुरेन्स (३ करोड ७ लाख रुपैयाँ) छन् ।
कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी

नेपाली पैसा