जापानमा चार महिनापछि व्यापारघाटा

401
टोकियोः निर्यातमा वृद्धि भए पनि जापानले मेमा चार महिनाको अवधिमा पहिलो पटक व्यापारघाटा बेहोरेको छ । उच्च ऊर्जा मूल्यका कारण आयात उकालो लागेपछि जापानले व्यापारघाटा बेहोरेको हो ।
जापानले २ सय ३ अर्ब येन अर्थात् १.८ अर्ब डलरको अप्रत्याशित व्यापारघाटा बेहोरेको वित्त मन्त्रालयले जनाएको छ । विश्वकै तेस्रो ठूलो अर्थतन्त्रले बचतको अवस्था सार्वजनिक गर्ने बजारको अपेक्षा बाबजुद जापानले व्यापारघाटा बेहोरेको हो ।
अघिल्लो वर्षको तुलनामा निर्यात मे महिनामा १४.९ प्रतिशतले वृद्धि भएर ५.८५ ट्रिलियन येन पुगेको छ । कार र स्टिलको निर्यातमा भएको वृद्धिले समग्र निर्यात उकालो लागेको हो ।
निर्यातमा भएको यो वृद्धि लगातार छैटौं महिनामा हो । तर, आयात पनि तीव्र दरमा उकालो लागेको छ । यो १७.८ प्रतिशतले वृद्धि भएर ६.०५ ट्रिलियन येन कायम भएको छ । तरल प्राकृतिक ग्यास, कोइला र कच्चा तेलको उच्च खर्चका कारण समग्र आयात पनि उकालो लागेको हो ।
राजनीतिक रूपमा संवेदनशील मानिएको अमेरिकासँगको बचतमा भने १९ प्रतिशतले वृद्धि भएर ४ सय ११ अर्ब येन कायम भएको छ । जापानले अमेरिकामा गरेको निर्यातमा ११.६ प्रतिशतले वृद्धि भएसँगै अमेरिकासँग जापानको व्यापार बचतमा पनि वृद्धि भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरि नै पक्षपातपूर्ण व्यापार अभ्यासलाई निर्मूल पार्ने बताउँदै आएका छन् । उनले यो मामिलामा जापानलगायत अन्य मुलुकलाई पनि निसाना बनाउँदै आएका छन् ।