सात बुँदे साझापूर्ण प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न
नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गर्दै सात बुँदे साझापूर्ण सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेको छ। बास नेपालको सहजीकरणमा आयोजित सो सुनुवाइमा नगर विकास, सेवा प्रवाह र संरचनागत सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू साझा गरिएका थिए।
सुनुवाइमा उपमहानगरपालिकाले आगामी योजना तथा कार्यक्रमलाई लैङ्गिक तथा सामाजिक समावेशी (LISA) मैत्री बनाउनुका साथै निर्माण हुने सबै भौतिक संरचनालाई अपांगता मैत्री बनाउने नीति पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
मुख्य बजार क्षेत्रमा बढ्दो सडक अतिक्रमणका कारण यातायात सञ्चालनमा समस्या देखिएको भन्दै उपमहानगरपालिकाले विशेष अभियानमार्फत अतिक्रमण नियन्त्रण तथा फुटपाथ व्यवस्थापन गर्ने घोषणा गरेको छ। त्यस्तै, नगर क्षेत्रमा छाडा पशु–चौपाया व्यवस्थापनका लागि नगरबासी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा विशेष योजना निर्माण गर्ने निर्णय सुनुवाइमा सार्वजनिक गरियो।
विभिन्न स्थानमा सडक बत्तीको अभावबारे आएको गुनासोको सम्बोधन गर्दै उपमहानगरपालिकाले स्थलगत अनुगमनपछि आवश्यक ठाउँमा तुरुन्तै बत्ती जडान गर्ने प्रतिबद्धता जनाएको छ। नाला–ढल निकास सम्बन्धी समस्या पहिचान गर्न अनुगमन गरी आवश्यक सरसफाइ तथा मर्मत कार्य गर्ने योजनासमेत प्रस्तुत गरिएको थियो।
वडा नम्बर २१ र २२ क्षेत्रमा पर्ने कान्तिताल संरक्षण तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमै बत्ती जडानसहित आवश्यक पूर्वाधार विकास कार्य अघि बढाइने उल्लेख गरिएको छ। त्यसैगरी लक्षित वर्ग उत्थान कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान गरी माग आएमा तत्काल सम्बोधन गर्ने निर्णय पनि सुनुवाइमा समावेश थियो।
कार्यक्रमको सुरुवातमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले पहिलो चौमासिकका गतिविधि तथा उपलब्धिहरूबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। सुनुवाइमा उठेका प्रश्नहरू नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा शाखा प्रमुखहरूले उत्तर प्रदान गरेका थिए।
कार्यक्रम बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेका थिए। बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने नागरिक प्रतिवेदन पत्र तथा बर्हिगमन अभिमतको नतिजा जनसम्पर्क अधिकृत माधव कार्कीले घोषणा गरेका थिए।
उपमहानगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर २२ स्थित कान्तिताल नजिक बाबाकुटी परिसरमा सम्पन्न भएको थियो।







































