हिन्दु स्वयंसेवक संघका प्रथम वर्ग स्वयंसेवक तयार

730
विराटनगर । विराटनगमा जेष्ठ १५ गतेदेखि संचालनमा रहेको हिन्दु स्वयमसेवक संघ नेपालको संघ शिक्षा वर्ग समापन भएको छ । विभिन्न लाठी एवं विभिन्न आत्म रक्षाका उपाए सिकाई प्रथम वर्ग समापन भएको छ । युद्ध कला कौसल एवं संयमित भई कार्य गर्न सिकाउने उक्त वर्गमा एक स्वयंसेवकलाई कसरी विभिन्न परिस्थितिमा सामना गर्न सकिन्छ भनी सिकाईने गरिन्छ ।
२० दिन सम्म चलेको उक्त वर्गमा शिक्षार्थीलाई नियमित रुपमा शारीरिक, वौद्धिक माध्यमवाट संस्कार संस्कृति, समाज स्वदेश भक्तिको शिक्षा आदि सिकाईएको हिन्दु स्वयम सेवक संघका कार्यकर्ता धुर्वराज लुईटेलले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षार्थीले आफ्नो ब्यक्तित्व विकास गर्दै कसरी समाज विकास यात्रालाई समाज संग जोड्ने भन्ने विषयमा उक्त वर्गमा अध्यापन गराईएको जानकारी दिनुभयो ।
नेपाली सेनाका निवर्तमान प्रधान सेनापति गौरव शमशेर राणाको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय बौद्धिक शिक्षण प्रमुख स्वान्तरञ्जनको विशेष उदबोधन रहेको थियो ।
समाजका लागि आवश्यक संस्कारित, समाजनिष्ठ, दक्ष र कुशल नागरिक निर्माणको कार्यमा हिन्दू स्वयंसेवक संघ विगत २६ वर्षदेखि निरन्तर रुपमा कार्य गर्दै आइरहेको सराहना गर्दै स्वान्तरञ्जनले युवालाई सही दिशा दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
विश्वमा व्याप्त अशान्ति, पर्यावरण प्रदूषण जस्ता विविध समस्याबाट त्राण पाउन हिन्दू जीवन दर्शनकै शरणमा जनुबाहेक अर्को कुनै विकल्प नरहेको उहाँले उल्लेख गर्नुभयो । कठोर दिनचर्यासहितको अनुशासनपूर्ण प्रशिक्षणबाट शिक्षित भएका युवा स्वयंसेवकहरुलाई शुभकामना दिंदै सक्रिय संघकार्यमा जुट्न आह्वाहन गर्नुभयो । यस्तै निस्वार्थ सेवा कार्य गर्ने संगठनबाट नै समाज लाभान्वित हुने उहाँले बताउनु भयो ।
छोटो समयमा कुशलतापूर्वक प्रशिक्षित भएका विद्यार्थिलाई समाज र राष्ट्रको उन्नतिमा जिम्मेवारीसहित लाग्ने प्रेरणा संघबाट मिलेको देख्दा आफू गौरवान्वित भएको पूर्व प्रधानसेनापति गौरव शमशेरले बताउनु भयो ।
वर्गको २० दिने प्रशिक्षणलाई नेपाल पुलिसका पूर्व ए आईजी कल्याण कुमार तिम्सिनाले वर्गाधिकारीको दायित्वमा रहेर अभिवावकको भूमिका प्रदान गर्नुभएको थियो । कार्यक्रममा उहाँले २० दिनको वर्गको संक्षिप्त जानकारी प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा झापा, मोरंग र सुनसरीका समाजसेवी, शिक्षा सेवी, बुद्धिजीवी, व्यावशायी, जनसाधारण गरी करीब २००० जनाको उपस्थिति रहेको थियो ।
समपनमा गत जेठ १५ गतेदेखि विभिन्न शारीरिक र बौद्धिक कार्यक्रमको अभ्यास गरेका ४३ जिल्लाका १२४ जना स्वयंसेवकले खेल, नियुद्ध, योग आसन, व्यायाम(योगका साथै घोषको भव्य प्रदर्शन गरेका थिए ।