मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटनामा परेको हो। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको उक्त गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा गाडीमा सवार ९ जनामध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएका ३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








































