सुनसरीको कोशी गाउँपालिकाका एक वडाध्यक्ष उम्मेदवारको नाम भारतीय मतदाता नामावलीमा भेटिएपछि उम्मेदवारी बदरको माग गरिएको छ ।
सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट कोशी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्षको उम्मेदवार बनेका महेन्द्र मर्वेताको नाम भारतीय मतदाता नामावलीमा भेटिएपछि उम्मेदवारी बदरको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
उनको नेपालको मतदाता नामावलीमा क्रम संख्या १७४७ र मतदाता नम्बर १४८२५०१ नम्बरमा बाबु बेचु मर्वेता रहेको उल्लेख छ । यता भारतको विहार विरपुर नगरपालिका आम निर्वाचन नामावली २०१७ मा विरपुर २ मा क्रम संख्या २०३–४५११८१२०८, WSB००२९४७० नम्बरमा पिता बेचु मर्वेता नामबाटै मतदाता नामावली रहेको छ ।
त्यसैगरी उजुरीकर्ताले उनी श्री प्रावि श्रीपुर १ को हालसम्मको ब्यवस्थापन समितिको अध्यक्ष रहेको र उम्मेदवारी दर्ता गराउन्जेलसम्म उनले सो लाभको पद धारण गरिरहेकोले उनको उम्मेदवारी बदर हुनुपर्ने माग गरेका छन् । उजुरीकर्ताले भारतीय मतदाता नामावली, नेपाली मतदाता नामावली, विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष कायम रहेको शिक्षा कार्यालयको पत्र समेत साथै पेश गरेका छन् ।
यता, कोशी गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर भण्डारीले भने भारतीय मतदाता नामावलीमा नाम रहेपनि उनले सो त्याग गरेको प्रमाण बुझाएको र विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पद लाभको पद नठहरिने स्पष्ट पारे । उजुरी परेपछि मर्वेताले मतदाता त्याग गरेको प्रमाण बुझाएको बताईएको छ ।
स्रोतका अनुसार भारतीय मतदाता नामावली अनुसार साविकको श्रीपुर १ मा मात्रै १ सय १२ जना भारतीय नागरिक मतदाता रहेका छन । कोशी गाउँपालिका भरीमा करिब ४ हजार मतदाता भारतीय नागरिक छन । त्यहाँ भारतको बनेलीपट्टी बसमतीय, विरपुर, फारविसगंज, बरियाकमाल लगायतका स्थानको मतदाताहरु रहेका छन् ।