केके मानन्धर
भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशीको नेतृत्वमा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ। शनिबार सम्पन्न संस्थाको १८औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट उक्त समिति निर्विरोध रूपमा चयन भएको हो।
नवनिर्वाचित सञ्चालक समितिमा उपाध्यक्षमा अनिल श्रेष्ठ, सचिवमा कृष्णकाजी मानन्धर र कोषाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रमेश थुसा श्रेष्ठ, तुलसीराम श्रेष्ठ र प्रेमसुन्दर श्रेष्ठ रहेका छन्।
अधिवक्ता लक्ष्मी केशरी भासिङको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय निर्वाचन समितिले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्पन्न गराएको थियो। लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णसुन्दर प्रजापति चयन हुँदा सदस्यहरूमा नरेन्द्र श्रेष्ठ र कान्छीमाया श्रेष्ठ निर्वाचित भएका छन्।
संस्थाको विधानबमोजिम बसेको नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले ललिता यलायको संयोजकत्वमा महिला विकास उपसमिति गठन गरेको छ। उपसमितिको सदस्यमा मिन्दिरा श्रेष्ठ र सुमिना मानन्धर चयन भएका छन्।
आर्थिक वर्ष २०८१/०८२ का लागि सहकारी ऐन, नियम तथा नियामक निकाय सहकारी शाखाबाट जारी गरिएको निर्देशिकाबमोजिम संस्थाले कार्यालय रहेको भवनकै हलमा साधारणसभा सम्पन्न गरेको हो। पछिल्लो समय सहकारी संस्थाको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेपछि वित्तीय भार कम गर्दै मितव्ययी ढंगले कार्यक्रम सञ्चालन गर्न निर्देशिका जारी गरिएको बताइएको छ।
संस्थामा हाल १ हजार ५२६ जना सेयर सदस्य रहेका छन्, जसमा ६१४ जना महिला र ९१२ जना पुरुष छन्। चालू आर्थिक वर्षमा संस्थाको कुल दायित्व १९ करोड ४५ लाख ७९ हजार ८१९ रुपैयाँ ७१ पैसा पुगेको छ। यसमध्ये सेयर पुँजी १ करोड ४७ लाख १ हजार २०० रुपैयाँ, जगेडा कोष ६५ लाख ७१ हजार ८५४ रुपैयाँ ९९ पैसा र निक्षेप १५ करोड ४५ लाख ५० हजार ८६९ रुपैयाँ ७९ पैसा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहकारी संस्था सुरक्षित रहे–नरहेको विषयमा सेयर सदस्यहरूले सजिलो तरिकाले मूल्यांकन गर्न सकून् भन्ने उद्देश्यले ‘पल्र्स (PEARLS)’ पद्धतिअनुसार वार्षिक वित्तीय विवरण प्रस्तुत गरिएको थियो। पल्र्स पद्धतिमा पी (Protection), ई (Effective Financial Structure), ए (Asset Quality), आर (Rates of Return and Cost), एल (Liquidity) र एस (Signs of Growth) सूचकका आधारमा सहकारीको वित्तीय अवस्था विश्लेषण गरिन्छ। यस आधारमा मध्यपुर थिमि सहकारी संस्थाको अवस्था सन्तोषजनक देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसअघि साधारणसभामा सेयर सदस्यहरूको सहभागिता सुनिश्चित गर्न सम्बन्धित सदस्यहरूको नाममा पत्राचार गर्नुका साथै संस्थाको सूचना पाटी, विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत सूचना प्रकाशित गरिएको थियो।






































