काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले फोहोरबाट बिलुली तथा बायोग्यास निकाल्ने कामको मङ्गलवार विधिवत् थालनी गरेको छ । कामपाको वातावरण व्यवस्थापन विभागले टेकुस्थित प्लाण्टबाट ग्यास र विद्युत् उत्पादन शुरू गरेको हो । नगरमा सङ्कलित फोहोरबाट बायोग्यास उत्पादन गर्न यसअघि लामो समय परीक्षण गरिएको थियो । महानगरको वडा नं १२ र १९ का बासिन्दाले घरबाट उत्सर्जन गरेको जैविक फोहोरबाट बायोग्यास उत्पादन गरिने विभागले बताएको छ । विद्युत् उत्पादन प्लाण्ट उद्घाटन कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरूपमा फोहोर व्यवस्थापन गर्न सके धेरै समस्याको समाधान हुने बताए । ‘यसबाट जैविक फोहोर व्यवस्थापनका लागि पनि ठूलो सहयोग पुग्न सक्छ,’ उनले भने । आफ्नो घर र शहर सफा राख्नु सबै नगरवासीको कर्तव्य रहेको उनले औंल्याए । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले फोहोर व्यवस्थापनको दिगो कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिएकी थिइन् । कामपाका कार्यकारी अधिकृत ईश्वरीराज पौडेलले फोहोरलाई ऊर्जाका रूपमा विकास गर्न कामपाले थालेको अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे । नेपालका लागि यूरोपेली सङ्घका राजदूत रिञ्जे टिरिन्कले काठमाडौंलाई विश्वसामु सुन्दर शहरका रूपमा चिनाउन अत्यावश्यक रहेको बताए ।
तीनवर्षे अवधिको लक्ष्य राखेर शुरू गरिएको एकीकृत दिगो फोहोरमैला व्यवस्थापन परियोजनामा कामपाको २० प्रतिशत र यूरोपेली सङ्घको ८० प्रतिशत गरी रू. १ करोड ८२ लाख लगानी गरिएको छ । यस परियोजनाले वार्षिक करीब २ हजार ५ सय टनबराबरको कार्बनडाइअक्साइड ग्यास उत्सर्जनमा कमी आउने अपेक्षा गरेको छ । दैनिक ३ मेट्रिक टन जैविक फोहोर मिथानेशन गर्न सक्ने क्षमताको यस मेशिनबाट दैनिक ३ सय किलो जैविक मल, ९६ किलो एलपी ग्यास, १४ किलोवाट बिजुली र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन हुने कामपाले जानकारी दिएको छ । कार्यक्रममा मेयर शाक्यले काठमाडौंमा फोहोरको अत्यधिक समस्या रहेकाले मातहतका कर्मचारीलाई सबेरै फोहार उठाउन निर्देशन दिइएको जानकारी दिए । एकीकृत दिगो फोहोरमैला व्यवस्थापन परियोजना ०७० चैत १८ देखि शुरू गरिएको हो ।