प्रगतिशील लोकतान्त्रिक पार्टी ले प्रतिबद्धतापत्र सार्वजनिक गर्‍यो

0

काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्षहरू सुदन किराती, दुर्गा सोबसन्तोष परियार लगायतले यही फागुन २१ गते हुने निर्वाचनका लागि संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो।

अध्यक्ष परिषद्का अध्यक्ष परियारले गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा हुन लागेको चुनावमार्फत पार्टीले गर्ने कामको स्पष्ट खाका प्रस्तुत गरिएको बताउनुभयो।

अध्यक्ष परिषद्का अध्यक्ष सोब र किरातीले मुलुक चरम आर्थिक सङ्कट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको उल्लेख गर्दै चुनावमार्फत सुधार र रूपान्तरण आवश्यक रहेको धारणा राख्नुभयो।

पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञात–अज्ञात सहिदहरूको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिल गरेको छ। प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपान्तरणको ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै आफूलाई अग्रगामी वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य पार्टीले लिएको जनाएको छ।

प्रलोपा नेतृत्वले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको उल्लेख गर्दै यसको आधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुने जनाएको छ।

साथै, पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्याङ्कन गर्न असफल भएको आरोप लगाउँदै पार्टीसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व तथा ठोस योजना र कार्यक्रम रहेको दाबी गरिएको छ।