काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी ‘साम्बा’लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘‘एन्फा अध्यक्षलाई फोन मार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु । देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ । उहाँलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु !’’
साम्बाले सोमबारमात्रै आफ्नो उपचारका लागि अनुनयविनय गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएको थियो । उहाँको उक्त आग्रहसँगै सहयोगका हात अगाडि बढिरहेका छन् ।
यद्यपि एन्फा र सरकारले भने कुनै पनि पहल नगरेको भन्दै सञ्जालभर आक्रोश फैलिएको छ ।
यसअघि काठमाडौँ मेडिकल कलेज केएमसीले उहाँले नेपालमा उपचार गर्न चाहेमा निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ ।
त्यस्तै, एन्फाका पूर्व अध्यक्ष एवम् पूर्व कप्तान गणेश थापाले ५० हजार रुपियाँ सहयोग गर्ने सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको छ ।







































