भक्तपुरमा ‘परम्परागत औद्योगिक सम्पदा’ विषयक अन्तरक्रिया सम्पन्न

0

भक्तपुर । भक्तपुरका मौलिक उद्योग, सीप र उत्पादनलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले ‘परम्परागत औद्योगिक सम्पदा’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर पर्यटन विकास समिति र ‘गो लोकल’ अभियानको संयुक्त आयोजनामा गरिएको हो।

कार्यक्रममा श्यामसुन्दर श्रेष्ठ ले ‘गो लोकल’ अभियानअन्तर्गत भक्तपुरका मौलिक उत्पादन र परम्परागत सीपलाई सम्पदाका रूपमा संरक्षण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

सहजकर्ता तथा ‘गो लोकल’ कार्यक्रमका सह–संयोजक रामसुन्दर भेले ले विभिन्न प्रकारका औद्योगिक सम्पदाबारे जानकारी गराउँदै भक्तपुरको मौलिक पहिचान संरक्षणमा देखिएका चुनौतीबारे धारणा राख्नुभयो। उहाँले ‘परम्परागत औद्योगिक सम्पदा’ अवधारणासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै भक्तपुरको सन्दर्भमा यसको महत्त्वबारे प्रकाश पार्नुभयो।

त्यसैगरी उद्यमी तथा ‘गो लोकल’ का संयोजक बिरेन्द्र जति ले भक्तपुरको प्रसिद्ध ताईचिन चिउरा को सांस्कृतिक तथा ऐतिहासिक पक्षबारे जानकारी दिँदै यसलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मठ–मन्दिर, पाटी–पौवा मात्र नभई स्थानीय चाडपर्व र परम्परासँग जोडिएका उत्पादन गर्ने उद्योगहरूलाई पनि सम्पदाका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।

‘गो लोकल’ का सदस्य प्रेम खर्बुजा ले नेपाली समाजमा चामलको सांस्कृतिक महत्त्व र यससँग जोडिएका परम्पराबारे चर्चा गर्दै विगतमा भक्तपुरमा सयौँ चामल मिल सञ्चालनमा रहेको भए पनि अहिले सीमित संख्यामा मात्र बाँकी रहेको उल्लेख गर्नुभयो। नयाँ पुस्तालाई सम्पदा र संस्कृतिको महत्त्वबारे जानकारी दिन नसकिए उद्योग र संस्कृति दुवै लोप हुने खतरा रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा जु–जु धौ व्यवसायी रमिला दुवाल ले घरेलु उद्योग प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै परम्परागत शैलीलाई पनि जोगाउँदै लैजान सके यस्ता उद्योगको महत्त्व अझ बढ्ने बताउनुभयो।

त्यसैगरी ‘स्टोरी साइकल’ का सौरभ ढकाल ले सञ्चालनमा रहेका परम्परागत उद्योगहरूको डिजिटल म्यापिङ गर्नुपर्ने र उत्पादनदेखि उपभोगसम्मको ‘लाइफ साइकल’ अध्ययन आवश्यक रहेको सुझाव दिनुभयो। स्थानीय कच्चा पदार्थ प्रयोग गर्दा उद्योगबाट हुने कार्बन उत्सर्जन पनि घटाउन सकिने उहाँले बताउनुभयो।

नेपाल पर्यटन बोर्ड का सुधन सुवेदी ले अनुभव गर्न सकिने अभौतिक सम्पदालाई कथा (Storytelling) मार्फत प्रस्तुत गर्दा पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय का कार्यालय प्रमुख रामप्रसाद कुस्मा ले परम्परागत उद्योगलाई सम्पदाका रूपमा विकास गर्न स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय सरकारलाई रचनात्मक सुझाव दिँदै आवश्यक ऐन–नियम बनाउन दबाब दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भक्तपुरका मौलिक उत्पादनहरूलाई ‘गो लोकल’ अवधारणाअन्तर्गत एउटै स्थानमा प्रदर्शन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सुझाव समेत दिइएको थियो। साथै पर्यटन क्षेत्रमा काम गरिरहेका संस्थाहरूलाई नै भक्तपुरका मौलिक उत्पादनबारे पर्याप्त जानकारी नभएकाले परम्परागत उद्योगहरूमा पर्यटकको आगमन अपेक्षाकृत कम भएको धारणा राखिएको थियो।

अन्तरक्रियामा पत्रकार कृष्ण किसी, संघका पूर्व अध्यक्ष रामसुन्दर खाताखो, उपाध्यक्ष हरिगोपाल त्वायना, सचिव श्रीजना कक्षपति, सदस्यहरू सुस्मा श्रेष्ठआकाश बादे तथा समितिका अध्यक्ष दिपेश शर्मा लगायतले ‘गो लोकल’ अभियानअन्तर्गत परम्परागत औद्योगिक सम्पदाको संरक्षण र प्रवर्द्धन उदाहरणीय पहल हुने अपेक्षा व्यक्त गर्नुभयो।