काभ्रे । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बेथानचोक गाउँपालिकाको पूर्वाधार विकासको कामलाई नै आफूले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । बेथानचोक घुम्न आउने पर्यटकले उचित सडकको निर्माण नहुँदा दुःख पाएकोदेखि आफू निर्वाचित हुने बित्तिकै पहिलो प्राथमिकतामा सडक निर्माण नै राखेको उहाँले स्पष्ट पार्नुभयो । बेथानचोक नारायण स्थान मन्दिरमा घेरा बारसहित सडक व्यवस्थित गर्नका लागि ढुङ्गा बिछ्याउने काम भइसकेको र थप काम पनि द्रुतगतिमा भइरहेको जानकारी दिनुभयो । सङ्घ सरकारको समपूरक कार्यक्रममा पनि बेथानचोक नारायण स्थान मन्दिरको पूर्वाधार विकासका काम भइरहेका छन् ।
अध्यक्ष अधिकारीले भन्नुभयो, “काभ्रेको बेथानचोक गाउँपालिकाले नारायण स्थान मन्दिरलाई धार्मिक एवं पर्यटकीय स्थल बनाउनका लागि दीर्घकालीन योजना बनाई पूर्वाधार विकासको कामलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।” उहाँका अनुसार यस ठाउँमा प्रशिक्षार्थीका रूपमा आउने विद्यार्थीहरूलाई मध्यनजर गरी घेरा बार लगाएको छ । पनौतीको सिमानादेखि निजी स्रोतबाट दिगो विकास लक्षित कार्यक्रम गरेका छौँ, स्वदेशी तथा विदेशी पर्यटकको सहजताका लागि केबुलकारको व्यवस्था गर्ने र हेलिकप्टरबाट माथि जान सक्ने व्यवस्था गर्ने पालिकाको दीर्घकालीन सोचलाई अन्तर्राष्ट्रिय सङ्घसंस्थाले पनि चासो व्यक्त गरेका गर्दै आएका छन् । यहाँसम्म पानी लैजान लिफ्टसङको प्रबन्ध मिलाइएको छ । बाटोका विभिन्न स्थानमा फोहर सङ्कलन गर्ने भाँडाहरूको व्यवस्था गर्नाका साथै पदयात्रीका लागि ठाउँ ठाउँमा बस्ने बेन्चको व्यवस्था पनि गरिएको छ । खानेपानी व्यवस्थाका लागि पाइप बिच्क्याइसकिएको र अब पानीको व्यवस्था पनि छिट्टै गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।पर्यटकलाई बस्ने ठाउँको व्यवस्था, फोहर व्यवस्थापन, पर्यटकको विवरण सङ्कलन, स्वदेशी तथा विदेशी पर्यटकमा वृद्धि, पानीको व्यवस्थापन, वनभोज गर्ने ठाउँको व्यवस्थापन गर्न सके यो ठाउँ साँच्चै नै भविष्यमा ‘पर्यटकीय हब’ बन्ने निश्चित प्रायः छ । ढकमक्क फुलेका लालीगुराँस, हिमाल, पहाड र तराईका मनोरम प्राकृतिक दृश्य एकै पटक अवलोकनसँगै भगवान् नारायणको दर्शन गर्न पाइने भएकाले पनि यहाँ एक पटक अवश्य पुग्नै पर्ने देखिन्छ ।
यसरी पुग्न सकिन्छ नारायण स्थान मन्दिर डाँडा
भूगोलको हिसाबले पनि निकै अग्लो स्थानमा रहेको यो मन्दिर राजधानी काठमाडौँदेखि ४५ किलोमिटरको दूरी पार गरेपछि पुगिन्छ । काठमाडौँदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ । बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारबाट करिब तीन घण्टा हिँडेरै नारायण स्थान मन्दिरमा पुग्न सकिन्छ । आफ्नै साधन हुनेहरू भने देउराली चौरमा साधन राखी करिब ४५ मिनेट पैदल हिँडेपछि सो डाँडामा पुग्न सक्छन् ।
बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबाट पैदल हिँडेर तीन घण्टामा पुग्न सकिने नारायण स्थान डाँडाले भविष्यमा राम्रै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ । वरिपरि स्टिलको बारले घेरी बिचबिचमा उभिएर दृश्यावलोकन गर्न सकिने बनाइएको यस ठाउँमा उभिएर हेर्दा वारिपारि छर्लङ्ग देखिने चट्टाने ढुङ्गा, कुनै सुगाको ठोँड जस्तो देखिने, कुनै पर्वत जस्तो देखिने तलतिर गाउँ बस्ती हेरिरहूँ जस्तो देखिन्छ ।नारायण स्थान डाँडाबाट नजिकै देखिने सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्न पाइने हुनाले पनि आन्तरिक पर्यटक विशेष गरी रात बस्ने गरी जाने गरेको पनि स्थानीय बासिन्दा बताउँछन् ।
मन्दिर जाने बाटोमा विभिन्न प्रकारका लालीगुराँसले स्वागत गरेको पाइन्छ । मन्दिरको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ । यो मन्दिरमा विशेष गरी फागु पूर्णिमामा ठुलो मेला लाग्ने गर्छ । उक्त मन्दिरमा जङ्गलै जङ्गलको बाटो हुँदै माथि डाँडोमा जानुपर्छ । छिनमै ड्याम्म तुवाँलोले ढाक्ने र छिनमै तुवाँलो हटेर छर्लङ्ग वारिपारि तलमाथिका रमणीय वन पाखा, बाटैभरि ढकमक्क फूलेका लालीगुराँस देख्दा त्यहाँ पुग्ने जो कोहीको पनि मन नलोभिने कुरै भएन ।











































