भक्तपुरमा ऐतिहासिक इन्द्रायणी द्योछेँ पुनःनिर्माण सम्पन्न

0

भक्तपुर । भक्तपुर नगरपालिका–२ खौमास्थित ऐतिहासिक तथा पुरातात्विक श्री इन्द्रायणी द्योछेँको पुनःनिर्माण कार्य सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न भएसँगै आज परम्परागत विधिअनुसार लुखा पूजा, धुरी पूजा लगायतका धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएको छ।

समारोहमा सहभागी हुँदै नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय जनताको सक्रिय सहभागिता र उपभोक्ता समितिको पहलमा सम्पन्न भएको यस कार्यले सम्पदाप्रति नागरिकको अपनत्व अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विदेशी सहयोगविना नै स्थानीय स्रोत, साधन र श्रम प्रयोग गरी सम्पदा संरक्षण गर्न सकिने उत्कृष्ट उदाहरणका रूपमा यस पुनःनिर्माणलाई लिन सकिने उल्लेख गर्नुभयो।

पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद चरण रायका अनुसार करिब ३ करोड रुपैयाँ लागतमा द्योछेँ पुनःनिर्माण सम्पन्न भएको हो। साथै विभिन्न संघ–संस्था, गुठी तथा स्थानीयवासीबाट करिब ५२ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको र सयौँ स्थानीयले जनश्रमदान गरेका थिए।

कार्यक्रमका अवसरमा नगर प्रमुख प्रजापतिले पुनःनिर्माण कार्यमा संलग्न सिकर्मी तथा डकर्मीहरूलाई टोपी र बेताली लगाई सम्मान गर्नुभएको थियो।

स्थानीय समुदायको सक्रिय सहभागिता र परम्परागत शैलीमा गरिएको पुनःनिर्माणले भक्तपुरको मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुगेको सरोकारवालाहरूले बताएका छन्।