बुढानीलकण्ठ। “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयनसहितको अवसर” भन्ने नारासहित मनाइँदै आएको ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस २०८२ को अवसरमा बुढानीलकण्ठ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उप–प्रमुख अनिता लामा को उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनका क्रममा उप–प्रमुख लामाले महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणका विषयमा राज्य, स्थानीय तह र समुदाय सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्। साथै, महिलालाई निर्णय प्रक्रियामा सक्रिय सहभागिता गराउँदै उनीहरूको क्षमता अभिवृद्धि तथा अवसर विस्तारका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराइन्।
अन्तरक्रिया कार्यक्रममा महिला तथा बालिकाको अधिकार, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण तथा सुरक्षित वातावरण निर्माणका विषयमा सहभागीहरूबीच खुला छलफल गरिएको थियो।
कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, महिला समूह, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न, समान अवसर सुनिश्चित गर्न तथा समाजमा सकारात्मक सोचको विकास गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
११६औँ अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष मार्च ८ का दिन विश्वभर मनाइन्छ। यस वर्षको नाराले महिला तथा बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयनसहितको अवसर सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ।









































