भजहर पूजा सुरु: रोगव्याधिबाट बच्न थारू समुदायको सामूहिक आस्था

0

कैलारी/कञ्चनपुर — प्रकृतिपूजक थारू समुदायमा रोगव्याधिबाट बच्न र गाउँघरमा सुख–समृद्धिको कामना गर्दै गरिने परम्परागत भजहर पूजा यतिबेला विभिन्न गाउँमा धुमधामसँग सञ्चालन भइरहेको छ । विशेषगरी चैत–वैशाख महिनामा गहुँ भित्र्याइसकेपछि फुर्सदको समयमा सामूहिक रूपमा यो पूजा गर्ने चलन रहेको छ ।

कैलारी गाउँपालिका–७, वसन्ताका पूर्वभलमनसा जिया चौधरीका अनुसार खेतीपातीको मुख्य काम सकिएपछि गाउँलेहरू भेला भई भजहर पूजा गर्ने परम्परा रहेको छ । “बर्का भजहर र चिरै भजहरका रूपमा पूजा गरिन्छ, जसले रोगव्याधि टाढा राख्ने विश्वास छ,” उहाँले भन्नुभयो ।

त्यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–टेढुवाका विक्रम बखरिया भन्छन्, गर्मीयाममा रुखको छहारीमुनि बसेर रमाइलो वातावरणमा सामूहिक रूपमा पूजा गर्ने चलनले समुदायबीच एकता पनि बढाउँछ ।

गुरुवा मङ्गरु चौधरीका अनुसार भजहर पूजाको मुख्य उद्देश्य गाउँमा रोगव्याधि नआओस्, बालबालिका तथा पशुचौपाया स्वस्थ रहून् र खेतीपातीमा किराको प्रकोप नहोस् भन्ने कामना गर्नु हो । चिरै भजहर एक दिनसम्म चल्ने भने बर्का भजहर एक सातासम्म सञ्चालन हुने गर्दछ ।

पूजाको अवधिभर गाउँका सबै परिवारले तयार पारेका परिकारहरू सङ्कलन गरी पूजा स्थलमै सामूहिक रूपमा पकाइने र प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । पूजापछि महिला तथा पुरुषहरू छुर, कबड्डी, कुइली डिडी जस्ता परम्परागत खेल खेलेर रमाउने गर्छन् । कतिपय स्थानमा बाटो छेकेर बटुवाबाट स्वेच्छिक दक्षिणा संकलन गर्ने प्रचलनसमेत रहेको छ ।

थारू समुदायमा वर्षभरि विभिन्न पूजापर्वहरू मनाइन्छन् । खेतीपाती सुरक्षित रहोस् भनी हरेरी पूजा, नयाँ धान भित्र्याएपछि लवाङ्गी पूजा तथा असारमा असारी (ढुरिया) पूजा गरेपछि खेतीको काम सुरु गर्ने परम्परा रहेको स्थानीय खेमराज चौधरीले जानकारी दिनुभयो ।

भजहर पूजा केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक सद्भाव, सामूहिकता र सांस्कृतिक पहिचान जोगाउने महत्वपूर्ण माध्यमका रूपमा पनि स्थापित हुँदै आएको छ ।