हुम्लाबाट ८७ लाखभन्दा बढीका रैथाने बाली खरिद, काठमाडौँसम्म बजार विस्तार

0

हुम्ला । Food Management and Trading Company Limited (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) को हुम्ला शाखाले चालु वर्ष जिल्लाका चार गाउँपालिकाबाट ८७ लाख रुपैयाँभन्दा बढी मूल्यका रैथाने बाली खरिद गरेको छ। रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई टेवा दिने उद्देश्यले ती बाली काठमाडौँसम्म लगेर बिक्री गर्ने गरिएको हो।

हुम्ला शाखाका प्रमुख कृष्ण थापामगरका अनुसार नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाबाट कुल ८७ लाख ५०० रुपैयाँ बराबरका बाली खरिद गरिएको हो। गाउँपालिकासँग समन्वय र सम्झौतामार्फत बाली संकलन भइरहेको उनले जानकारी दिनुभयो।

यस वर्ष सर्केगार्ड र सिमकोट गाउँपालिकाबाट २५४.७० क्विन्टल सिमी ५१ लाख ९४ हजार रुपैयाँमा खरिद गरिएको छ। यस्तै नाम्खा र सिमकोटबाट ५० क्विन्टल उवा ६ लाख ५० हजार रुपैयाँमा तथा ४९ क्विन्टल तिते फापर ५ लाख १४ हजार ५०० रुपैयाँमा खरिद गरिएको छ।

त्यसैगरी सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट ५५ क्विन्टल चिनो १० लाख १७ हजार ५०० रुपैयाँमा र ७७ क्विन्टल कागुनो १४ लाख २४ हजार ५०० रुपैयाँमा खरिद गरिएको शाखाले जनाएको छ।

खरिद गरिएका बाली हाल गाउँपालिकाका बिक्री केन्द्रमा भण्डारण गरिएको छ भने अब छिट्टै पैदल मार्गमार्फत सुर्खेत पठाइने तयारी भइरहेको छ। हुम्लाबाट सुर्खेत हुँदै काठमाडौँसम्म ढुवानीको सम्पूर्ण जिम्मा कम्पनीले नै लिँदै आएको छ।

जिल्ला दररेटअनुसार चिनो र कागुनोको चामल प्रतिकेजी १८५ रुपैयाँ, सिमी २०० रुपैयाँ, तिते फापर १०५ रुपैयाँ, मिठे फापर १२५ रुपैयाँ, उवा १३० रुपैयाँ र कोदो १०५ रुपैयाँ प्रतिकेजीका दरले खरिद हुँदै आएको छ। यही दररेटका आधारमा कम्पनीले स्थानीय किसानबाट रैथाने बाली खरिद गर्दै आएको छ।

स्थानीय उत्पादनलाई सुनिश्चित बजार उपलब्ध गराउने र कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित यस्तो खरिद कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।