म्याग्दीमा सुरु भयो जोखिमपूर्ण मह सिकार, एकै दिन ७० लिटर भिरमह संकलन

1

म्याग्दी । म्याग्दीका विभिन्न हिमाली भेगमा परम्परागत मह सिकार सुरु भएको छ। धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्ने कार्य सुरु गरिएको हो।

धवलागिरि गाउँपालिका–२ खोरियाका अनुभवी महसिकारी मोतिप्रसाद पाइजाको नेतृत्वमा शुक्रबारदेखि मह सिकार थालिएको हो। खोरिया नजिकको महभिरमा रहेका दुई घारबाट पहिलो दिनमै करिब ७० लिटर मह संकलन गरिएको टोलीले जनाएको छ। आगामी दिनमा अन्य भीरहरूमा पनि सिकारलाई निरन्तरता दिने तयारी छ।

मह सिकार अत्यन्तै जोखिमपूर्ण परम्परा मानिन्छ। सिकारीहरू डोरी (स्थानीय भाषामा ‘पराङ’) को सहायताले ठाडो भीरमा झुन्डिएर मौरीको गोला काट्दै मह निकाल्छन्। भीरमा झुन्डिएर काम गर्नुपर्ने भएकाले यो कार्य साहस र अनुभव दुवै आवश्यक पर्ने पेशा हो।

अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाका अनुसार बेँसीका भीरबाट सुरु हुने मह सिकार असारसम्म लेकाली क्षेत्रतर्फ सर्दै जान्छ। वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ—वसन्तमा बेँसी र शरदमा लेकमा भिरमह निकाल्ने गरिन्छ।

मह निकाल्ने क्रममा दुई समूह परिचालित हुन्छन्। माथिल्लो समूहले डोरी झुन्ड्याउने काम गर्छ भने तलको समूहले संकलित मह थाप्ने र सुरक्षित राख्ने जिम्मा लिन्छ। महको गोलामा धुवाँ लगाएर मौरी भगाइएपछि मात्र मुख्य सिकारीले गोला काटेर मह निकाल्ने गर्छन्।

भिरमह स्वादिलो, पोषिलो र औषधीय गुणयुक्त मानिन्छ। धार्मिक कार्यमा समेत प्रयोग हुने यो मह प्रतिलिटर तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

स्थानीय परम्परा, सीप र साहसको प्रतीक मानिने मह सिकारले यहाँको सांस्कृतिक पहिचान जोगाउँदै आयआर्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।