नेपाली भूमिमा तटबन्ध बनाउन भारतीय एसएसबीको अवरोध

0

नवलपुर। नारायणी नदीको कटानबाट सुस्ता बचाउन नेपालले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माण गर्न लागेको तटबन्धमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ ।

नेपालले आफ्नै भूमिमा तटबन्ध निर्माण गर्न खोज्दा पनि भारतीय पक्षले अवरोध गरेको निर्माण आयोजनाका अधिकारीहरूले बताएका छन् । सुस्ता पुलबाट उत्तरतर्फ नेपाल–भारत सीमाभन्दा करिब ५० मिटरभित्र नेपाली भूमिमा निर्माण गर्न लागिएको तटबन्धमा एसएसबीले रोक लगाएको सुस्ता बचाउ अभियानका संयोजक आदम खानले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेल्लर (सिमल)को रुख भएको स्थानलाई सीमा मानिने भए पनि नेपालले त्यस क्षेत्रभन्दा ५० मिटर वर आफ्नै भूमिमा नयाँ परियोजनाअन्तर्गत १३२ मिटर लामो तटबन्ध निर्माण गर्न लागेको थियो । तर, उक्त क्षेत्रलाई विवादित भन्दै भारतको भैसालोटनस्थित बाल्मिकीनगरबाट आएको एसएसबी टोलीले काम रोक्न निर्देशन दिएको उहाँको भनाइ छ ।

एसएसबीको अवरोधप्रति असन्तुष्टि जनाउँदै संयोजक खानले नेपाली भूमि रक्षाका लागि स्थानीयहरू संघर्ष गर्न तयार रहेको बताउनुभयो । उहाँले भारतले सुस्तालाई चारैतिरबाट घेराबन्दी गर्ने रणनीतिअनुसार अवरोध गरिरहेको आरोप लगाउँदै स्थानीयले निर्माणस्थलमा धर्ना दिएर काम अघि बढाउन दबाब दिने चेतावनी दिनुभयो ।

स्थानीयको आशङ्का अनुसार तटबन्ध निर्माण नभए नारायणी नदीले धार परिवर्तन गरी सुस्ताको भूभाग थप जोखिममा पार्न सक्छ । नदीले धार परिवर्तन गरे सीमा प्रभावित हुने भएकाले भारतले काममा अवरोध गरेको उनीहरूको दाबी छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भारतीय पक्षले अवरोध गरेको विषय गृह मन्त्रालयलाई जानकारी गराइसकेको र केन्द्र सरकारको निर्देशनअनुसार अगाडि बढ्ने बताउनुभयो ।

“भारतीय पक्षले यो क्षेत्र विवादित भएको र सन् २०२३ को सहमतिविपरीत काम भइरहेको दाबी गरेको छ । उक्त सहमतिबारे अध्ययन गरेर केन्द्रको निर्देशनअनुसार निर्णय गरिनेछ,” उहाँले भन्नुभयो ।

सङ्घीय सरकारअन्तर्गत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले हेरी एन्ड जेभी कन्स्ट्रक्सन प्रालिलाई एक करोड ४० लाख रुपैयाँमा तटबन्ध निर्माणको ठेक्का दिएको छ । निर्माण कम्पनी उपकरणसहित स्थलमा पुगेका बेला अवरोध भएको आयोजनाका इन्जिनियर बेलबहादुर विकले जानकारी दिनुभयो ।

गत वर्षको वर्षायाममा सुस्ताको उत्तरी क्षेत्रबाट बाढी बस्तीमा पस्दा स्थानीयले रातभर जाग्राम बसेर बालुवाभरेका बोरा प्रयोग गरी बस्ती जोगाएका थिए । बर्खा सुरु हुनुअघि नदी नियन्त्रणका लागि स्थायी संरचना निर्माण नभए बस्ती जोखिममा पर्ने स्थानीयको चिन्ता छ ।

सुस्ता तीनतर्फ नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको क्षेत्र हो । नदी बस्तीमा पस्दा उद्धार तथा राहत कार्यसमेत चुनौतीपूर्ण हुने स्थानीय बताउँछन् । हाल यहाँ करिब ३५० घरधुरीमा तीन हजार २०० भन्दा बढी नेपाली नागरिक बसोवास गर्छन् ।

४० हजार ९८० हेक्टर क्षेत्रफल रहेको सुस्तामध्ये १४ हजार ५०० हेक्टर भूभाग भारतले अतिक्रमण गरेको स्थानीयको दाबी छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी सुस्ताका प्रहरी निरीक्षक बसन्त पण्डितका अनुसार १९ हजार ९८० हेक्टर क्षेत्र विवादित मानिएको छ भने नेपालले हाल सात हजार हेक्टर जमिन मात्र भोगचलन गरिरहेको छ ।

इतिहासअनुसार सुस्ता क्षेत्र पहिले नौ वडा रहेको एकीकृत गाउँ पञ्चायत थियो । २०३४ सालमा नारायणी नदीमा आएको बाढीपछि गाउँ विस्थापित भएको र त्यसपछि दक्षिणतर्फबाट भारतीय अतिक्रमण बढ्दै गएको सुस्ता बचाउ अभियानका सल्लाहकार किशन शर्मा गैरेले बताउनुभयो ।

विसं २०२५ मा सुस्तामा पञ्चायत कार्यालय, विद्यालय, हुलाक र प्रहरी चौकी स्थापना गरी प्रशासनिक काम सुरु गरिएको थियो । २०२७ सालमा नापीका क्रममा भारतीय सुरक्षाकर्मीले नेपाली नापी टोलीलाई पक्राउ गरी भारतको चम्पारणस्थित बेतिया जेल पठाएको इतिहास पनि रहेको स्थानीय बताउँछन् ।

नेपाल–भारत सहमतिअनुसार २०२९ सालमा पुनः नापी गरी ५५६ बिघा जमिनको लालपुर्जा वितरण गरिएको थियो । स्थानीयका अनुसार २०६२ सालयता भारतले निरन्तर अतिक्रमण गर्दै आएको छ भने त्यसयता सीमा सर्वेक्षण हुन सकेको छैन ।