नेपाल न्याय लयर्स फुटसल कप–२०८३ को च्याम्पियन, भक्तपुर बार ‘ए’ उपविजेता

0

भक्तपुर  । नेपाल बार एसोसिएसनको आयोजनामा सम्पन्न लयर्स फुटसल कप–२०८३ को उपाधि नेपाल न्यायले जितेको छ। प्रतिस्पर्धात्मक फाइनलमा भक्तपुर बार ‘ए’ टोलीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल न्याय च्याम्पियन बनेको हो।

फाइनल खेल निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल न्यायले ३–१ को जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो।

यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भक्तपुर बार ‘ए’ ले काठमाडौं बार ‘सी’ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। दोस्रो सेमिफाइनलमा नेपाल न्यायले काठमाडौं बार ‘ए’ लाई २–१ गोल अन्तरले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो।

तेस्रो स्थानका लागि भएको खेलमा काठमाडौं बार ‘सी’ ले भक्तपुर बार ‘बी’ लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेस्रो स्थान हासिल गर्‍यो।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरिएको छ। नेपाल न्यायका राजेश तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए भने भक्तपुर बार ‘ए’ का सत्य नारायण महर्जन सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) बने। त्यसैगरी राजपाल केसी प्रतियोगिताको उत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) घोषित भएको सचिव अजिस सुवालले जानकारी दिनुभयो ।

नेपाल बार एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न बार इकाइ तथा कानुनी क्षेत्रसँग आबद्ध टोलीहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलमार्फत कानुन व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक बार अध्यक्ष रामशुन्दर खाईतुले बताउनुभयो ।