जोकोभिक, फेडेरर र केर्बर विम्बल्डन टेनिसको तेस्रो चरणमा

427

काठमाडौं । विश्व नम्बर दुई सर्बियन नोभाक जोकोभिक र तेस्रो वरियताका स्विस खेलाडी रोजर फेडेररले विम्बल्डन टेनिसको पुरुष एकलतर्फ तेस्रो चरणमा स्थान बनाएका छन् ।

पहिलो चरणमा वाकओभर पाएका जोकोभिक र फेडेररले बिहिबार राति भएको दोस्रो चरणको खेलमा जित निकाल्दै तेस्रो चरणमा स्थान बनाएका हुन् ।

लण्डनस्थित सेन्टर कोर्टमा सर्बियन जोकोभिकले तेस्रो चरणमा स्थान बनाउन चेक रिपब्लिकका एडम पाव्लासेकलाई ३ – ० को सेटमा पराजित गरे । पहिलो खेलमा  स्लोभाकियाका खेलाडी मार्टिन क्लिजानबाट वाक ओभर पाएका ३० बर्षिय जोकोभिकले दोस्रो चरणमा पाव्लासेकमाथि ६ – २, ६ – २ र ६ – १ को सेटमा जित निकालेका हुन् ।

तिन पटकको विम्बल्डन बिजेता जोकोभिकले अब तेस्रो चरणमा लाटभियाका अर्नेस्ट्स गुल्बिसको सामना गर्ने  छन् ।

बर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको पुरुष एकलतर्फ नै  सात पटकको च्याम्पियन फेडेररले सर्बियाका डुसान लाजोभिकलाई ३ – ० को सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका छन् । ३५ बर्षिय फेडेररले लाजोभिकमाथी ७ – ६ (७ – ०) , ६ – ३ र ६ – २ को जित निकाले । अब फेडेररले तेस्रो चरणमा जर्मन खेलाडी मिशा जेभरेभको सामना गर्ने छन् ।

घासे मैदानमा खेलिने विम्बल्डनको महिला एकलतर्फ विश्व नम्बर एक एन्जेलिक केर्बरले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन्  । जर्मनीका २९ बर्षिया केर्बरले बेल्जियमकी क्रिस्टियन फ्लिप्केन्सलाई ७ – ५ र ७ – ५ को सेटमा पराजित गरिन् ।