भरतपुर मुद्दा अर्को पेशी २६ गते

417

काठमाडौं । भतरपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतगणनाका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । उक्त मुद्दाको पेशी ७ नम्बरमा परेकोमा हेर्दाहेर्दैमा राखिएको छ ।

यो मुद्दाको पेशी अब असार २६ गतेलार्इ तोकिएको छ । निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि आज सुनुवाइ हुन लागेको थियो । न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मत गन्ने क्रममा गणनास्थलमा रहेका पार्टी प्रतिनिधिले केही मतपत्र च्यातेपछि गणना रोकिएको थियो । त्यसपछि सो विषय सर्वोच्च अदालतसम्म पुग्यो ।
च्यातिएका मतपत्र अदालतमा झिकाइएको थियो । च्यातिएका मतपत्र, मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाईएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र गणना गरेपछि पठाईएको प्रतिवेदन पनि भरतपुरबाट अदालत ल्याइएको थियो ।
भरतपुर महानगरपालिका वडा नं। १९ को मतगणना जारी रहेको बेला मतपत्र च्यातिएको थियो । महानगरका २९ वटा मध्ये २७ वटाको गणना सम्पन्न भएको छ । वडा नम्बर १९ को मतपत्र निर्वाचन आयोगले बदर गरी पुनः मतदानको निर्णय गरेपछि घटना अदालत पुगेको हो ।
भरतपुर महानगरपालिका वडा नं। १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।
रिट निवेदकका तर्फबाट शम्भु थापा, टिकाराम भट्टराई लगायतले बहस गरेका थिए ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै रिट दायर गरिएको थियो ।
हुँदै नभएको तथ्यलाई तोडमोड गरी सत्तापक्षका उमेदवार जिताउने योजना रहेको पनि रिटमा उल्लेख गरिएको थियो ।
मतपत्र च्यातिएको करिब एकसातापछि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।
९० वटा मतपत्र च्यातिएका थिए
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको छ ।
निर्वाचन आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन अधिकृतको कार्यालयले विभिन्न राजनीतिक दलका नेता, उमेदवार, सुरक्षा समितिको रोहबरमा च्यातिएका मतपत्र गणना गर्दा बिहीबार ९० वटा मत गन्नै नमिल्नेगरी च्यातिएको पाइएको छ ।
तर नेकपा एमालेले त्यसमा केही मत गन्न सकिने अवस्थाको रहेको हुँदा धेरै विवाद नगर्न आग्रह गरेको थियो ।
भरतपुर वडा नम्बर १९ मा जम्मा २८९७ मत खसेको थियो भने १८०९ मत गणना भएको थियो । त्यति मत गणना हुँदासम्म नेकपा एमालेका उमेदवार ज्ञवाली माओवादी
केन्द्रकी उमेदवार रेणु दाहाल भन्दा ७३३ मतले अघि थिए ।  अब वडा नम्बर १९ मा ९९८ मत गन्न बाँकी रहेको छ ।  यसैबीच मतपत्र च्यात्ने दुई माओवादी कार्यकर्ता एक एक लाख धरौटीमा रिहा भइसकेका छन् ।
अदालतको आदेशमा माओवादी केन्द्रका नेताहरु मधु न्यौपाने र द्रोण शिवाकोटीलाई रिहा गरिएको हो ।