उत्तर कोरियाले दियो आणविक युद्धको चेतावनी

587

उत्तर कोरियाले आफ्नो सीमानजिकै अमेरिकाले दुईवटा बम्बर विमान तैनाथ गरेकोमा निन्दा गर्दै यो उक्साहटले आणविक युद्ध निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकाले दुईवटा बी–१बी बम्बर विमानहरू शनिवार कोरियाली प्रायद्वीपमा पठाएको थियो । दक्षिण कोरियाली फाइटर जेटहरूसँग मिलेर सैन्य अभ्यास गर्न यी विमान पठाइएको हो ।

उत्तर कोरियाले अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि उसलाई तर्साउनका लागि अमेरिकाले यी विमानहरू पठाएको थियो ।

देशको प्रमुख अखबार रोदोङ सिन्मुनको सम्पादकीयमा अमेरिकाको पछिल्लो कदमलाई ‘खतरनाक’ संज्ञा दिइएको छ ।

‘अमेरिकाले बम्बर विमान नियमित रूपमा तैनाथ गर्ने बताउनु भनेको हतियारको भण्डारमा आगोसँग खेल्नु जस्तै बहुलट्ठी काम हो,’ पत्रिकामा लेखिएको छ ।

‘सानो त्रुटिले पनि आणविक युद्ध गराउन सक्छ र त्यसबाट सिधै नयाँ विश्वयुद्ध मच्चिन्छ ।’

सम्पादकीयले वाशिङटनले प्योङयाङविरुद्ध आणविक युद्धको धम्की बढाउएका कारण उत्तर कोरियाले हतियार परीक्षण गर्नुपरेको भन्दै त्यसलाई जायज ठह–याउने कोशिश गरेको छ ।

बी–१बी विमानहरू सी अफ जापानमाथि उडेका थिए र तिनीहरू दुई कोरियालाई छुट्ट्याउने सिमानासम्म पुगेका थिए ।