पाँच दिनपछि अवकास पाउन लागेका क्षेत्री बने मुख्य सचिव

793

काठमाडौं –सरकारले सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले क्षेत्रीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको जागिर खान गएपछि सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

मुख्य सचिवका लागि अर्थ सचिव धनबहादुर तामाङ, शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठले लविङ गरिरहेका थिए । मुख्य सचिव नियुक्त भएका क्षेत्रीको भने खासै चर्चा थिएन । बरिष्ठताको आधारमा क्षेत्रीलाई नियुक्त गरिएको मन्त्री कार्कीले बताए ।

मुख्य सचिवमा नियुक्त नभएको भए क्षेत्रीले पाँच दिनपछि साउन २ मा अनिवार्य अवकाश पाउने थिए । मुख्य सचिव क्षेत्रीको कार्यकाल चार महिना हुनेछ । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार उनले कात्तिक ८ गते ५८ वर्षे उमेरहदका कारण अवकाश पाउनेछन् ।

क्षेत्री उर्जा मन्त्रालयकोसमेत सचिव बनेका थिए । पछि उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोग र गरिवी निवारण मन्त्रालयमा सचिव बनेका थिए ।